मन्थली (रामेछाप)- दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा मृतकको संख्या ६ पुगेको छ। पहिरोमा परी चार जना हराइरहेका छन्।
घाइते एक जनाको अवस्था गम्भीर रहेको गाउँपालिका उपाध्यक्ष खमला थापामगरले जानकारी दिएकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो। एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन।
गाउँपालिका उपाध्यक्ष खमला थापामगरका अनुसार गएराति पहिरो खसेको हो।
घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।
पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ।
