पेरिस- मेसेजिङ एपका टेलिग्रामका संस्थापक र सीईओ पावेल दुरोभ फ्रान्समा पक्राउ परेका छन्।
शनिबार साँझ पेरिसको बोरजे विमानस्थलमा उनी पक्राउ परेका हुन्। टिएफ१ टीभी र बीएफएम टीभीले उनी पक्राउ परेको समाचार प्रसारण गरेका छन्।
दुरोभ पक्राउका विषयमा फ्रान्सको आन्तरिक मन्त्रालय र प्रहरी तथा टेलिग्रामले भने कुनै टिप्पणी गरेका छैनन्।
दुरोभले २०१३ मा आफ्ना दाजुसँग मिलेर टेलिग्रामको स्थापना गरेका थिए। सन् २०१४ मा रूसी सरकारविरोधी गतिविधिलाई प्रश्रय गरेको भन्दै कारबाही चलाउन सक्ने भएकाले उनले रुस छोडेका थिए।
दुरोभले अप्रिलमा अमेरिकी पत्रकार टकर कार्लसनलाई भनेका थिए, ‘म कसैको आदेश लिनेभन्दा स्वतन्त्र रहन चाहन्छु।’ उनी हाल आफ्नो कम्पनीको नयाँ घरको खोजीमा बर्लिन, लन्डन, सिङ्गापुर र सान फ्रान्सिस्को भ्रमण गर्दैछन्।
उनीमाथि आतंकवाद, मादक पदार्थको आपूर्ति, धोकाधडी, सम्पत्ति शुद्धीकरणलगायतका आरोप छ। उनलाई २० वर्ष कैद सजाय हुन सक्ने टिएफ१ टीभीको समाचारमा उल्लेख छ। –रोयटर्स
