काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका वडा नं ८ ले जेष्ठ नागरिकहरूलाई छाता, लठ्ठी र माला प्रदान गरेको छ।
वडामा रहेका २ सय १० जना जेष्ठ नागरिकहरूलाई लठ्ठी, छाता र माला प्रदान गरिएको वडाध्यक्ष विनोद गौतमले बताए।
वडा कार्यालयमा गत आइतबार अध्यक्ष गौतमले सम्मानका साथ यी सामग्री प्रदान गरेका थिए।
‘यसअघि कहिल्यै पाइएको थिएन। बाँसको लौरो टेकेर हिँड्नुपरेको थियो। अब हिँड्न पनि सजिलो भयो। घाम र पानीबाट ओत लाग्न नयाँ छाता पनि पायौँ,’ ७८ वर्षीय नन्दीकेशर न्यौपानेले आशिर्वाद दिँदै भने, ‘हामीलाई बा आमाको रुपमा सम्झिनुभयो। उहाँले आँटेको काम सफल होस्।’

नन्दीकिशोर जस्तै अन्य जेष्ठ नागरिकले पनि खुसी व्यक्त गरे।
यसअघि वडाले जेष्ठ नागरिकका लागि कृतिम दाँत राख्ने कार्यक्रम समेत सम्पन्न गरेको थियो। ‘हामी उहाँहरूलाई दिनुपर्ने सम्मान र सहयोगमा सधैं सचेत छौँ। आगामी दिनमा अझै धेरै गर्न सकियोस्, ’ अध्यक्ष गौतमले भने।

कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई घर घरमा गएर सम्मानका साथ सामग्री वितरण गरिने वडाध्यक्ष गौतमले जानकारी दिए।
कार्यक्रममा छुटेका जेष्ठ नागरिकका लागि पायक पर्ने स्थानअनुसार १० गते पकुचा स्वास्थ्य कार्यालय र ११ गते बडालगाउँस्थित बिनायक बाल आधारभूत विद्यालयमा वितरण कार्यक्रम राखिने अध्यक्ष गौतमले बताए।


