पोखरा- हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिरान्डा पार्सोन्सले जितेका छन्। शनिबार बिहान पोखराको फेवातालमा पौडीबाट सुरु भई आइतबार बिन कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङमा आएर समापन भएको प्रतियोगितामा तारा र पिटर विजयी बनेका हुन्।
पुरुषतर्फ च्याम्पियन भएका पिटरले फेवातालमा ३ किमी ८०० मिटर पौडी, १७५ किमी साइक्लिङ र ४३ किमी दौड १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गरेका हुन्। पुरुषतर्फ नै इटालीका जिओभानी बोर्टोलासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी दोश्रो हुँदा रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड लगाए।
यता महिलातर्फको उपाधि बिजेता ताराले निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाइन्। महिलातर्फ फ्रान्सकी बेनेडिक्ट पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डममा तोकिएको दूरी पार गर्दै दोश्रो तथा चेक रिपब्लिककी भेरोनिका मर्चेन्टले २४ घण्टा २८ मिनेट २५ सेकेण्ड समय लगाउँदै तेश्रो भइन्। प्रतियोगितामा २२ देशका ३६ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए। उनका अनुसार २७ जनाले दौड पुरा गरेका छन्। सहभागी पाँच महिलामध्ये ३ जनाले दौड पूरा गरेका थिए।
प्रतियोगीले फेवातालमा पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि १७५ किमी साइकल दौड सुरु गरेका थिए। पोखराको लेकसाइडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँपुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो।
त्यसपछि ४३ किमी लामो दौड सुरु भएको थियो। काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (४३०० मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा समापन भएको योन्जनले बताए।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
सो अवसरमा बोल्दै सदस्य सचिव घिसिङले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको गनत्व्य बनाउन सहज हुने बताए। ‘नेपाल आफैमा सहाशिक खेलकुदको गन्तव्य हो । यसको उचित प्रचार प्रसार गरी स्थानिय, प्रदेश र संघिय सरकार मिलेर खेलकुदको विकासका लागि अघि बढ्न राखेपले सहजीकरणको भूमिका खेल्नेछ,’ उनले भने।
नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले यस्तै प्रतियोगिताहरुले नेपाली गाउँ वस्तीको विश्वमा नै पहिचान बनाउन सहज हुने बताए। उनले नेपाल आफैमा पनि सहासिक खेलकुदका लागि गन्तव्य रहेकोले यस प्रकारका कार्यक्रम गर्न संघले सबै संस्थासँग सहकार्य गर्ने बताए।


