काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
मौसम पूर्वानुमन महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। ‘कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


