नयाँदिल्ली- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी अध्यक्षमा जय साह निर्विरोध निर्वाचित भएका छन्। साहले सन् २०२४ डिसेम्बर १ देखि कार्याभार सम्हाल्नेछन्।
साहले सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा काम गरेका थिए।
आइसीसीको विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकाल नखोज्ने निर्णय गरेपछि शाह अध्यक्ष पदका लागि एक मात्र उम्मेदवार थिए।
निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्ने मनाशय व्यक्त गरे।
विशेषरूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उनले महत्त्वपूर्ण अवसरका रूपमा हेरेका छन्।
‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षका रूपमा निर्वाचित भएकामा म विनम्र भएको छु,’ आईसीसीलाई उद्धृत गर्दै उनले भने, ‘म क्रिकेटलाई अझ धेरै विश्वव्यापी बनाउन आईसीसी टिम र हाम्रा सदस्य मुलुकहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छु, हाम्रो लक्ष्य क्रिकेटलाई पहिलाभन्दा धेरै समावेशी र लोकप्रिय बनाउनु हो।’
आईसीसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति बनेका छन्। विगतमा आईसिसीको नेतृत्व गर्ने जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशाङ्क मनोहर पनि भारतीय हुन्।
