काठमाडौं- नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ। नेकपा एसमा अध्यक्ष, सम्मानित नेता र महासचिवका लागि सर्वसम्मति गरिएको भएपनि बाँकी पदाधिकारी चयन गर्नका लागि मंगलबार निर्वाचन भएको थियो।
नतिजाअनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन्।
राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन्। उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए।
यसअघि पार्टीमा सचिव रहेकी झाँक्री कसरी हारिन् त?
पार्टीमा पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि नेपाल र भुसाल पक्षले छुट्टाछुट्टै लिस्ट बाँडेका थिए। तर झाँक्री भने दुवै सूचीमा नपरेपछि हार्न पुगेकी हुन्। केही नेता दुवै लिस्टमा परेका थिए। सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षलाई थियो।
बुधबार मतदान जारी रहेका बेला अध्यक्ष माधवकुमार नेपाल पक्ष पनि सूची बाँढे पनि त्यो सूचीमा पनि झाँक्री परिनन्। पदाधिकारी चयनका लागि भएको निर्वाचनका लागि केन्द्रीय सदस्य मतदाता थिए। ३४४ जना केन्द्रीय कमिटी सदस्यले मतदान गरेका थिए।
अध्यक्ष माधवकुमार नेपाल पक्षबाट जिताउनुपर्ने भनेर बाँडिएको लिस्टमा रामकुमारी झाँक्रीको नाम समावेश थिएन। नेपाल पक्षले बाँढेको सूचीमा महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी झाँक्रीको ठाउँमा जयन्ती राईलाई मत दिन भनिएको थियो।
उता, नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन्।
एमालेबाट विभाजन भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी बनाएपछि झाँक्री रोलमोडल थिइन्। निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदा झाँक्रीले नेपाललाई हात समाएर डोहोर्याउँदै लगेको फोटो भाइरल बनेको थियो।
नेकपा एस बनाउन ठूलो योगदान गरेर नेपाललाई हात डोहोर्याए पनि उनलाई नेपालले नै धोका दिएको भन्दै टिप्पणी पनि भइरहेको छ।


