तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको हो।
तुलसीपुर–४ निवासी जितबहादुर थापाको नेतृत्वमा समिति निर्माण गरी माछा संरक्षण थालिएको हो । बर्षातको समयमा ढरिया हालेर माछा मार्दा साना माछाका भुराहरू हराउने भन्दै त्यसो नगर्न अभियान थालिएको अध्यक्ष थापाले बताए। ‘बर्सातको समयमा माछाहरू माथितिर आउने गर्छन्, माथितिर आइरहेका साना माछाका भुराहरूलाई ढरिया हालेर मार्दा सबै माछा सकिने अवस्था आउँछ। त्यसैले हामीले यो अभियान थालेका हौँ’, उनले भने।
यस्तै, हिउँदतिर विषादी हाल्ने, करेन्ट लगाएर माछा मार्ने गरिएकामा यस्ता कार्यलाई पनि नियन्त्रण गरिने योजना रहेको अध्यक्ष थापाले सुनाए। ‘पछिल्लो समय माछा लोप हुने अवस्थामा छन्। यसले गर्दा माछा मारेर जीविकोपार्जन गर्ने बादी समुदायको पेसा पनि सङ्कटमा छ। त्यसलाई पनि मध्यनजर गरी संरक्षण र व्यवस्थापनका काम सँगसँगै अगाडि बढाउने सोच छ’, उनले भने।
अभियानमा सहयोग नगर्ने, करेन्ट लगाउने तथा विषादी हालेर माछा मार्न थालेमा पहिलो पटकमा रु १० हजार र त्यसपछि पुनःकरेन्ट लगाएमा थप रु १० हजारका दरले जरिवाना लगाउने गरी तयारी गरिएको जनाइएको छ। त्यस्तै ढरिया हालेर माछा मारेमा रु पाँच हजारका दरले जरिवाना लगाउने निर्णय गरिएको पनि अध्यक्ष थापाले जानकारी दिए।
ग्वारखोलामा उत्तरमा रोल्पा र सल्यानको सिमानादेखि दक्षिणमा घोराही–तुलसीपुर सडक पुलबीच क्षेत्रमा माछा संरक्षण अभियान चलाइएको छ। तुलसीपुर–४ को बायोखोला, दद्रेनी तथा तुलसीपुर १९ का कुटीचौर, श्रीचौरका बासिन्दाहरु मिलेर यो अभियान थालिएको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले बताए।
यसरी माछा संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको र यस अभियानमा स्थानीय सरकारको पनि साथ रहेको उनको भनाइ छ। ‘विगतमा यस क्षेत्रमा विभिन्न जातका माछा पाइन्थे, अचेल त्यो अवस्था छैन। भुर्रा हुँदै मार्ने र बाँचिहालेमा ठूला भएपछि करेन्ट लगाएर, विष हालेर मार्ने समस्या थियो। यो अभियान सञ्चालनपछि त्यो समाधान हुने अपेक्षा छ’, उनले भने।


