काठमाडौँ- ह्युस्टन प्रहरीले २१ वर्षीया नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। बुधबार ती व्यक्तिलाई नियन्त्रणमा लिएको स्थानीय सञ्चार माध्यम केपीआरसीटुले उल्लेख गरेको छ।
युवतीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले फोटो सार्वजनिक गरेको केही घण्टा नबित्दै ती संदिग्धलाई नियन्त्रणमा लिइएको भन्दै केपीआरसीटुले समाचार प्रशारण गरेको छ।
‘बुधबार ८ बजेभन्दा केही समयपछि मुना पाण्डेको हत्यामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ,’ प्रहरी स्रोतले केपीआरसीटुसँग भनेको छ, ‘संदिग्ध व्यक्तिका सम्बन्धमा प्रहरीमा कल आएपछि उनलाई ट्राफिक स्टपबाट पक्राउ गरिएको हो। प्रहरीले यसअघि संकलन गरेका प्रमाणहरूसँग ती व्यक्तिको हुलियालगायतका विवरण मेल खाएको छ।’
उनीमाथि प्रहरीले सोधपुछ भइरहेको प्रहरीले बताएको छ। तर पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले खुलाएको छैन।
बुधबारै पाण्डेमाथि गोली हानी हत्या गर्ने व्यक्तिको तस्बिर सार्वजनिक गरिएको थियो।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि तीन गोली प्रहार भएको थियो।
सीसीटीभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।
मुना अमेरिकी पुरुषसँग प्रेम सम्बन्धमा थिइन्। उनको हत्यामा ती पुरुष नै संलग्न भएको आशंका गरिँदै आएपनि हत्या गरिएको स्थानमा अर्कै पुरुष देखिएका थिए।
प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको थियो। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको थियो। त्यसकै आधारमा प्रहरीलाई शंकास्पद व्यक्ति पक्राउ गर्न सहज भएको हो।
मुनाको सुत्ने ओछ्यानमा कट्कटिएको रगत भेटिएको र शनिबार नै ती पुरुष मुनाको अपार्टमेन्टमा पुगेको सीसीटीभी फुटेजमा देखिएकाले सोही दिन हत्या भएको प्रहरीको आकलन छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी हुन्। सन् २०२२ को जनवरीदेखि उनले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेन्टमा करिब एक वर्ष काम गरेकी थिइन्। काठमाण्डुकरीका संचालक रामकृष्ण सापकोटाका अनुसार इमान्दार र ग्राहक सेवामा मुना अब्बल थिइन्। मुनाले काठमाण्डुकरी छोडेपछि पनि धेरैसम्म ग्राहकले मुनालाई खोजिरहेका हुन्थे।
मुनाकी आमा काठमाडौँ बस्दै आएकी छन्। माता-पिताको सम्बन्धविच्छेद भइसकेकाले अमेरिका प्रस्थान गर्नुअघिसम्म मुना आमासँग बस्दै आएकी थिइन्। एकल आमाले हुर्काएकी मुना एक्ली सन्तान हुन्।
पारिवारिक स्रोतका अनुशार मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्। मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेकी थिइन्। तर बीचमा भने उनीहरुबीच सम्बन्ध राम्रो नभएको समेत मुनाले आमालाई सेयर गरेको बताइएको छ।
आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन्।
४ दिनदेखि छोरी मुनाको मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफ हुने गरेकाले कतै घुम्न गएको होला भन्ठानेको उनको भनाइ छ। नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन्।


