काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदनका विषय संशोधन गर्नका लागि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई मनाउने प्रयासमा बिहीबार पनि छलफल सुरु गरेका छन्।
सभापति देउवाले महामन्त्रीद्वयले पेस गरेको प्रस्तावबारे बुढानीलकण्ठस्थित आफ्नै निवासमा उनले दुवै महामन्त्रीलाई बोलाएर छलफल थालेका हुन्।
मंगलबार पनि देउवाले प्रतिवेदनको भाषा संशोधन गर्न दुवै महामन्त्रीलाई आग्रह गरेका थिए। तर थापा र शर्माले पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुग्न सकेको छैन।
महामन्त्रीका दुवै प्रस्ताव देउवाका लागि घाँडो भएका छन्। केन्द्रीय समितिमा आफू पक्षधर तीन चौथाईभन्दा बढी भएपनि देउवाले बहुमतबाट निर्णय लिन चाहेका छैनन्। त्यसरी बहुमत सदस्यबाट मतदानका आधारमा निर्णय लिँदा पार्टीमा मतविभाजन हुन सक्ने उनको ठहर छ। त्यसले उनले सर्वसम्मतिका लागि महामन्त्रीहरूसँग लगातार छलफल गर्दै आएका छन्। सर्वसम्मतिका लागि देउवाले सकेसम्म प्रयास गर्ने उनीनिकट एक नेताको भनाइ छ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले एक्जिट पोलिसीका विषयमा प्रस्ताव गरेका छन्।
एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने शर्माको प्रस्ताव छ। यो प्रस्तावलाई देउवासहितका उनी पक्षका नेताहरूले संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।
मंगलबारको छलफलमा महामन्त्रीहरूलाई बोलाइएको छलफलमा पार्टीका पदाधिकारी पनि सहभागी थिए। प्रतिवेदनमा कुरा नमिलेपछि देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकको मिति नै सारिसकेका छन्।
बैठक भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। यसअघि भदौ १२ गते बैठक बोलाइएको थियो। ‘प्रतिवेदन परिमार्जन गर्न सभापतिज्यूले भन्नुभयो। महामन्त्रीद्वयले आफ्नो रायसहित प्रतिवेदन परिमार्जन गर्न नसकिने बताउनुभयो,’ बैठकमा सहभागी एक पदाधिकारीले भनेका थिए।
प्रतिवेदन संशोधन गर्न महामन्त्री तयार नहुँदा साउन २३ सुरु भएको बैठक २८ सम्म चलेको थियो। तर सकिएन। भदौ ७ मा हुँदै भदौ १२ गतेका लागि सारिएको बैठक फेरि सारिएको हो।


