काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रतिवेदन संशोधन हुने भएको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री थापाको प्रतिवेदन संशोधन गर्ने सहमति जुटाएको हो। बैठकमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी सहभागी थिए।
संशोधित प्रतिवेदन भोलि बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘महामन्त्रीको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिमा पेस गर्ने निर्णय भएको छ,’ ती नेताले भने।
अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने संविधानसँग सम्बन्धित रहेका त्यही बेला छलफल चलाउने निर्णय भएको छ।
थापाको प्रतिवेदनमा आगाामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने उल्लेख थियो भने शर्माको प्रतिवेदनमा एक्जिट पोलिसीसम्बन्धी विषय समावेश थिए।
केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र महामन्त्री शर्माले पेस गरेको प्रतिवेदनका विषयमा देउवा र महामन्त्रीद्वयबीच मतैक्यता हुन सकेको थिएन।
मंगलबार पनि देउवाले प्रतिवेदनको भाषा संशोधन गर्न दुवै महामन्त्रीलाई आग्रह गरेका थिए। तर थापा र शर्माले पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुग्न सकेको थिएन।
केन्द्रीय समितिमा आफू पक्षधर तीन चौथाईभन्दा बढी भएपनि देउवाले बहुमतबाट निर्णय लिन चाहेनन्। त्यसरी बहुमत सदस्यबाट मतदानका आधारमा निर्णय लिँदा पार्टीमा मतविभाजन हुन सक्ने उनको ठहर छ। त्यसले उनले सर्वसम्मतिका लागि महामन्त्रीहरूसँग लगातार छलफल गर्दै आएका छन्।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले एक्जिट पोलिसीका विषयमा प्रस्ताव गरेका थिए। यी दुवै विषयमा सभापति देउवाका ‘रिजर्भेसन’ थिए।
एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने शर्माको प्रस्ताव छ। यद्यपि सांसद भने जति पटक पनि बन्न पाउने गरी संशोधन गर्न आफू तयार रहेको शर्माले बताउँदै आएका छन्। तर शर्माको प्रस्तावलाई देउवासहितका उनी पक्षका नेताहरूले राष्ट्रपतिबाहेकका कुनै पनि पदमा यतिउति पटक भनेर तोक्न नहुने गरी संशोधन गर्नुपर्ने बताउँदै आएका छन्।
महामन्त्रीहरूका प्रतिवेदनमा कुरा नमिलेपछि देउवाले कांग्रेसको केन्द्रीय समिति बैठकको मिति पटकपटक सारिसकेका छन्।
प्रतिवेदन संशोधन गर्न महामन्त्री तयार नहुँदा साउन २३ सुरु भएको बैठक २८ सम्म चलेको थियो। तर सकिनै नपाई बीचमै स्थगित भयो। स्थगनपछि भदौ ७ मा बसेको बैठक भदौ १२ गतेका लागि सारियो। अब बैठक भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।
महामन्त्री थापाको प्रस्तावमा १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्नेसमेत उल्लेख छ।
यसपछि लामो प्रयास गरेर देउवाले थापाको प्रतिवेदन संशोधन गर्ने सहमति जुटाएका हुन्। शर्मा प्रस्ताव संविधान संशोधनका बेला छलफल गरिने सहमति छ।
