काठमाडौँ- काठमाडौँको कलंकीमा भएको सडक दुर्घटनामा परी एक जना स्कुटर चालकको मृत्यु भएको छ। अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेको अवस्थामा बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार गम्भीर घाइते बनेका मगरलाई नेसनल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएको केही समयमा नै उनको मृत्यु भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएको देखिएको प्रहरीको भनाइ छ। मोटरसाइकल चालक फरार रहेको उनले बताए।
प्रहरीले बसको नम्बर खुलाएको छैन।


