काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र (बालेन) शाहको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। काठमाडौँ महानगर कार्यपालिकाको मंगलबार बसेको बैठकमा उपमेयरले प्रश्न उठाएकी हुन्।
काठमाडौँका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोलले मेयर बालेन शाहमाथि प्रश्न उठाएकी हुन्।
बैठकमा वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले पनि सूचना निकाल्न हतार गरेको भन्दै मेयरमाथि प्रश्न गरेका थिए।
सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ थप २०/२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो। लगत्तै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ।
महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उनले भनिन्, ‘यो सबै जनाको निर्णय हो कि होइन? मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन।’
जनभावना विपरीत महानगर गएको भनेर बुझ्न थालेको, तर आफूहरुसँग छलफल नै नगरेकाले सूचनाको ओनरसिप लिन नसकिएको उपमेयर डंगोलले बताइन्। उपमेयरको प्रश्न सुनेपछि मेयर बालेनले केही जवाफ दिएनन्, ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडे।
२९ साउनमा महानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनेको थियो।
उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो।


