घोडाघोडी (कैलाली)- जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ।
सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिए।
जोशीका अनुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालकको भदौ ७ र वडा नं ६ का ६० वर्षीय पुरूषको भदौ ३ गते मृत्यु भएको हो।
गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताए।
गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा ५ महिने बालकमा सङ्क्रमण पुष्टि हो।
गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन्।
अन्य सङ्क्रमितको उपचार भइरहेको छ।
पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्छ।
