कैलालीको धनगढीबाट २४औँ सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ।
समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन्। संयोजक अग्रवालसहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा. केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ।
डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए। औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए। केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा कसरी प्रस्तुत हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने जैसी बत्ताउँछन्।
‘डा. सावले उठाउनु भएका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भीर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ जेसीले भने, ‘केसी आफ्ना कुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न।’
७ बुँदे माग राख्दै डा. केसी बिहीबारदेखि सत्याग्रहमा बसेका छन्।
डा. केसीका मागहरू
१.शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाइ नयाँ नियुक्ति गर्न।
२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड र पूर्वाधारबिनै निजी मेडिकल कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्न।
३. चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनमा भएका प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न।
४. विगतका सरकारहरूसँग भएका सबै लिखित सहमतिहरू कार्यान्वयन गर्न।
५. सीमावर्ती तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै स्वास्थ्य सेवा कटौती गर्ने प्रयास रोक्न।
६. भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन।
७. विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार कटौती हुने सबै निर्णय र नीतिको पुनरावलोकन गरी स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न।







