काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ।
स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो।
फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो।
१८ हप्तासम्म गरिएको क्लिनिकल परीक्षणमा सहभागीलाई आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर खुवाइएको थियो। त्यसपछि ओखर सेवन नगरेको अवधिसँग नतिजा तुलना गरिएको थियो।
अध्ययनले ओखर सेवनपछि समग्र मानसिक असन्तुलनमा उल्लेख्य कमी आएको देखाएको छ। त्यस्तै, रिस र थकानको स्तर घट्नुका साथै भावनात्मक अवस्थाका कारण बढी खाने बानी तथा खानासँग जोडिएको अपराधबोधका केही पक्षमा पनि सुधार देखिएको अनुसन्धानकर्ताले बताएका छन्।
बार्सिलोना विश्वविद्यालयको टोरेबेरा क्याम्पसमा पोषण तथा खाद्य विज्ञानकी प्राध्यापक डा. मारिया इज्क्विएर्दो–पुलिडोको नेतृत्वमा भएको अनुसन्धानले ओखर र मानसिक स्वास्थ्यबीचको सम्बन्धमा आन्द्रामा रहेका सूक्ष्म जीवाणु (गट माइक्रोबायोटा) तथा सेरोटोनिनको भूमिकासमेत औंल्याएको छ।
अनुसन्धानका क्रममा ओखर सेवन गर्ने सहभागीको पिसाबमा युरोलिथिन र ५–एचआईएएको मात्रा उल्लेख्य रूपमा बढेको पाइएको थियो। युरोलिथिन ओखरमा पाइने पोलिफिनोलको आन्द्रामा रहेका सूक्ष्म जीवाणुद्वारा हुने रूपान्तरणबाट बन्ने पदार्थ हो। यसमा एन्टिअक्सिडेन्ट तथा सुन्निने प्रक्रिया कम गर्न सहयोग गर्ने गुण पाइन्छ।
त्यस्तै, ५–एचआईएए सेरोटोनिनको मुख्य मेटाबोलाइट हो। सेरोटोनिनलाई मुड, भावनात्मक अवस्था र मानसिक स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण रसायन मानिन्छ।
अनुसन्धानकर्ताका अनुसार युरोलिथिन र सेरोटोनिनको चयापचय प्रक्रियाबीच देखिएको सम्बन्धले ओखर सेवन, आन्द्राको सूक्ष्म जीवाणु र भावनात्मक स्वास्थ्यबीचको सम्भावित सम्बन्धबारे थप अध्ययनको बाटो खोलेको छ।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा. इज्क्विएर्दो–पुलिडोले ओखर सेवनपछि मुडमा सुधार देखिनुका साथै त्यससँग सम्बन्धित जैविक सूचकमा समेत परिवर्तन देखिनु महत्त्वपूर्ण भएको बताएकी छन्। उनका अनुसार यसले ओखरको सेवन र भावनात्मक स्वास्थ्यबीचको सम्बन्ध बुझ्न नयाँ अनुसन्धानको अवसर सिर्जना गरेको छ।
यसअघि सन् २०२५ मा यही अनुसन्धान समूहले गरेको अर्को अध्ययनमा पनि ओखर सेवनपछि निद्राको नियमनमा महत्त्वपूर्ण भूमिका खेल्ने हर्मोन मेलाटोनिनको जैविक सूचक बढेको पाइएको थियो।
दुवै अध्ययनले नियमित ओखर सेवनले मुड र निद्रासँग सम्बन्धित स्वास्थ्य पक्षमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखाएका छन्।
ओखरमा प्रोटिन, फाइबर, ट्रिप्टोफान, ओमेगा–३ फ्याटी एसिड, म्याग्नेसियम र पोलिफिनोल पाइन्छ। यीमध्ये ट्रिप्टोफान सेरोटोनिन निर्माण प्रक्रियासँग सम्बन्धित एमिनो एसिड हो भने ओमेगा–३ र पोलिफिनोलले मस्तिष्कको कार्यक्षमतासँग सम्बन्धित प्रक्रियामा भूमिका खेल्न सक्ने अध्ययनहरूले देखाएका छन्।
यद्यपि, अनुसन्धानमा सहभागीको संख्या थोरै र अधिकांश महिला रहेकाले यसको नतिजालाई सबै उमेर समूह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिमा समान रूपमा लागू गर्न नसकिने अनुसन्धानकर्ताले बताएका छन्।
ओखर सेवनले मुडमा पार्ने प्रभाव पुष्टि गर्न लामो अवधिसम्म र ठूलो जनसंख्यामा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ। एएनआई


