नयाँदिल्ली- फुट्ने जोखिम भएका करिब दुई सय हिमतालमा उच्चप्रविधियुक्त पूर्वजानकारी दिने प्रणाली भारतले बनाएको छ।
जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने घातक खतरा भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो प्रणाली विकास गरिएको र यसको परीक्षण भइरहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
भारतका हिमालयमा कम्तीमा ७ हजार ५ सय हिमताल छन्। तीमध्ये धेरै हिमनदीले खतरनाक बाढीको जोखिम निम्त्याउन सक्ने सम्भावना छ।
भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) को टोलीहरूले तीन वर्षको मिसनमा सबैभन्दा खतरनाक मानिने एक सय ९० उच्च उचाइका तालहरूलाई लक्षित गरिरहेका छन्।
मिसनलाई निर्देशन गर्ने एनडिएमएका वरिष्ठ अधिकारी सफी अहसान रिजवीले भने, ‘हामीले पहिला नै जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण प्रगति गरेका छौँ।’
ग्लेसियर लेक आउटबर्स्ट फ्लड (जिएलओएफ) पहिलेको ग्लेसियर आधारमा जम्मा भएको पानीको अचानक ‘रिलिज’ हो। यो मानव–जनित जलवायु परिवर्तनको न्यानो तापक्रमका कारण स्वाभाविक रूपमा हुने घटना हो।
भारतको सिक्किममा ६ वटा उच्च जोखिमयुक्त ताल वरपर प्रारम्भिक चेतावनी प्रणाली स्थापनाको काम गरिरहेको छ। यहाँ सन् २०२३ मा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ७७ जनाको मृत्यु भएको थियो।
‘हामीले अहिलेसम्म २० वटा तालमा यो प्रणाली बनाइसकेका छौँ र अबको केही समयमा नै यो संख्या बढेर ४० वटा पुग्नेछ,’ रिजवीले भने। परियोजनाले तालहरूमा जम्मा भएको पानी र आंशिक रूपमा पग्लिएको बरफलाई ‘तालको स्तर घटाउनमा’ पनि समावेश गर्नेछ।
टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन्।
विनाशकारी प्रभाव
मिसनले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा काश्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ।
जलवायु परिवर्तनले हिमनदीहरू लोप गराउँदैछ। तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न सकिए पनि यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीका दुई लाख १५ हजार हिमनदीमध्ये आधा पग्लिने अनुमान गरिएको छ।
उपग्रह तथ्याङ्कमा आधारित सन् २०२० को अध्ययनअनुसार ३० वर्षमा हिमतालहरूको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ।
नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा एक करोड ५० लाख मानिस हिमतालको ५० किलोमिटरभित्र र दरारबाट सम्भावित बाढीको एक किलोमिटरभित्र बस्ने गरेको उल्लेख छ।
भारत, पाकिस्तान, चीन र नेपालसहित १२ मुलुकमा ‘हाइ माउन्टेन एसिया’ क्षेत्रमा खतरा सबैभन्दा धेरै थियो। विश्वका अन्य क्षेत्रको तुलनामा चेतावनीको समय अझ छोटो बनाउँदै यस क्षेत्रमा धेरै मानिस हिमतालनजिकै बस्छन्।
गत महिना नेपालको सगरमाथा क्षेत्रमा एउटा हिमताल फुट्दा थामे गाउँमा बाढी आएको थियो। बासिन्दाहरूलाई पूर्वसूचना जारी गरिएकाले कुनै हताहत भएन।
नेपालमा पनि थुप्रै हिमताल रहेको र जलवायु परिवर्तनका कारण ती हिमताल फुट्ने सम्भावना छ। भारतले विकास गरेको प्रणाली नेपालका लागि पनि उपयुक्त हुने देखिन्छ।
