विराटनगर- पाँच दिनअघि मृत अवस्थामा भेटिएका नाबालिग दुई छोरीकी आमा अस्मिता न्यौपाने बुधबार विर्तामोडमा फेला परिन्।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नाबालिग मृत फेला परेपछि दुई छोरीका पिता सम्पर्कमा आएपनि आमा अस्मिता भने फरार थिइन्।
नाबालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा विर्तामोडमा फेला परेकी थिइन्।
शारीरिक रूपमा कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।
सुन्दरहरैँचा–७ मा बस्दै आएका अस्मिता र श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि आमा अस्मिताले २ नाबालिग छोरीलाई सँगै लिएर हिँडेकी थिइन्। दुवै छोरी शनिबार दिउँसो मृत फेला परेका थिए।
कार्कीका नाबालिगहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए।
प्रहरीले पक्राउ गरी आमा अस्मितासँग बयान पनि लिएको थियो। बयानका क्रममा अस्मिताले आफूले नै दुवै नाबालिग छोरीलाई विष खुवाएको बताएकी छन्।
पतिले आफूलाई मानसिक तनाव दिएकाले आफू पनि मर्ने मनाशयले विष पिएको र दुवै छोरीलाई पनि विष खुवाएको उनको जिकिर छ।
कोशी प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालका अनुसार अस्मिताले पहिला आफूले विष खाएको र पछि छोरीहरूलाई पालैपालो खुवाएको बताएकी छन्।
छोरीलाई विष खुवाएर हिँडेकी आमा अस्मिताले उक्त दिन जंगलमै बिताएकी थिइन्। विषले विक्षप्त भएकी उनी विर्तामोड पुगेकी थिइन्। उनको शरीरमा अझै विषको असर देखिएको उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरीको भनाइ छ।


