काठमाडौँ- उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटको निगरानी काठमाडौँ महानगरको कार्यालयबाटै गर्न सुरु भएको छ।
फोहर व्यवस्थापन हुने गरेको नुवाकोट र धादिङ जिल्लाको सीमानामा अवस्थित बञ्चरेडाँडामा अब ९ वटा सीसीटीभी क्यामेराले चौबिसै घण्टा निगरानी गर्ने व्यवस्था मिलाइएको हो।
साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्तिका क्रियाकलाप निगरानी गरेर सम्भावित जोखिम कम गर्न यो प्रणाली जडान गरिएको महानगरको भनाइ छ।
‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने।
क्यामराबाट प्राप्त दृश्यहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र वातावरण व्यवस्थापन विभागबाट दृश्य हेर्न सकिने बनाइएको छ।
साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन्। वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार ९ वटा क्यामराले ल्यान्डफिल्ड साइटको निगरानी गर्ने व्यवस्था मिलाइएको छ।
पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन्। सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ।
‘यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ। नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ,’ उनले भने।


