काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन नपाउने बताएका छन्। युवा सं३को कार्यक्रममा बोल्दै उनले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका हुन् ।
‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन,’ उनले भने। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भ्रष्टहरु जोगाउन लागेको दाबी गरे। ‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ। मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’
उनले प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा फिल्म नै लाग्ने भनेर गरेको टिप्पणीमाथि प्रश्न समेत गरेका छन्। उनले तपाईको सिनेमा कहिलेबाट हलमा लाग्छ? भन्ने प्रश्न गरेका हुन्। ‘तपाईको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ? सबैतिर सिनेमा चल्या छ, तपाईको हलमा कहिले लाग्छ? सधैं ट्रेलर मात्र प्रचण्डजी? सिनेमा चलाउनुस् न । तपाईंको हलमा किन ताला लागेको छ? मलाई बोलाएर भेट्ने, ट्रेलरमात्र हो भन्ने फिल्म देखाउँछु भन्ने, देखाउन सक्नुभयो?’
