काठमाडौं– आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ।
नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि लागू भने २६ वैशाख २००९ भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष २६ वैशाखको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ।
सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीको उपस्थिति रहने गरेको छ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।
कानुन दिवस अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रम आयोजना गर्छ। आज दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ।
कानुन दिवस अवसरमा हिजै मात्र कामु प्रधानन्यायाधीशबाट प्रधानन्यायाधीश बनेका सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले भुइँतहका नागरिकलाई कानुनी पहुँचमा लैजान र विधिको शासनलाई कायमै राखिराख्न दिवसले प्रेरणाा दिने विश्वास व्यक्त गरेका छन्।


