काठमाडौँ- देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो।
सबै स्थानीय तहमा पनि टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ।
सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमै टीएमएस चलाएर सेयर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो।
प्रधानमन्त्री कार्यालयले क्रमिक रुपमा सबै कार्यालयमा टीएमएस चलाउन नमिल्ने बनाइने बताएको छ। यसको अनुगमन पनि हुने कार्यालयको दाबी छ।


