काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कतार प्रस्थान गर्न लागेका गोरखा आरुघाट गाउँपलिका–६ का २८ वर्षीय सुरज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुरजविरुद्ध बहुविवाहको आरोपमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार सुरजविरुद्ध उनकै श्रीमती रीता गुरुङले बहुविवाहको जाहेरी दिएकी हुन्।
‘सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो,’ उनले भने, ‘लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उनीलाई पक्राउ गरिएको हो।’
उजुरी परपछि सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको सूचना प्रहरीले पाएको थियो। रिताले आफू पत्नी हुँदाहुँदै सुरजले अर्की महिला घताने गुरुङसँग विवाह गरेको जाहेरी दिएकी थिइन्।
‘उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरी गोरखा ल्याइएको हो,’ श्रेष्ठले भने।

