काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेताको समेत संलग्नता देखिएको समाचार आइरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भ्रष्टाचारविरुद्ध फाइल खोल्ने नभई फायर खोल्नुपर्ने बताएका हुन्।
उनले भने, ‘अहिले भुटानी शरणार्थी सन्दर्भको फाइल खोलिएको छ। यसलाई कतै पनि नअल्झिएर सरकारले निष्कर्षमा लैजाने आँट गर्नुपर्छ। भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायरै खोल्नुपर्छ।’ भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा निर्दोष नफसून् र दोषी कोही पनि नबचून् भन्नेबारे भने ख्याल राख्नुपर्ने उनको धारणा छ।
सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएको नीतिमा विरोधाभास रहेको शर्माले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति हो भने त्यसलाई कार्यान्वयनमा लैजान सक्नुपर्ने उनको भनाइ छ। भ्रष्टाचारको छानबिनका लागि सरकारले कुनै पनि हदम्याद राख्न नहुने उनले सुझाए।


