विराटनगर- नेपाली कांग्रेसले कोशी प्रदेशमा ४ जनालाई मन्त्री बनाएको छ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गरिएको हो।
उनीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङसक्षम शपथ पनि लिइसकेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मन्त्रीपरिषद् विस्तार भएको हो।
योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ। कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधारमन्त्री बनेका छन्। उनी कृष्णप्रसाद सिटौला निकट नेता मानिन्छन्। सिटौला समूहकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।
त्यस्तै खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री, सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भए। उनीहरू दुवै जना संस्थापन पक्षधर हुन्। मण्डल संस्थापन समूहमा पनि ज्ञानेन्द्र कार्की निकट मानिन्छन्।
नवनियुक्त मन्त्रीहरुको सूचीमा डा.शेखर कोइराला समूहलाई भने समावेश गराइएको छैन। गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको दूई मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन।
शेखर समूहका प्रदेशमा आठ सांसद छन्। शेखर निकट प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग सहकार्य गर्दा आठ सांसदले केन्द्रको सत्ता समीकरण विरुद्ध हुने गरी विद्रोह गरेका थिए।
संस्थापन समूह सरकारमा जाँदा २ मन्त्रालय मागेको कोइराला समूह बाहिरै बसेको हो।
कांग्रेस-एमालेबीच गठबन्धन बनेपछि साउन ११ गते माओवादी केन्द्रले कोशी सरकार छाडेको थियो।
१२ गते कांग्रेसले ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति गरेको थियो। ८ मन्त्री र दुई राज्यमन्त्री बनाएका मुख्यमन्त्री हिक्मत कार्कीले यतिबेला स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका छन्।
यो मन्त्रालय डाक्टर शेखर कोइराला समूहका लागि छुट्याइएको हो।
रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन्।
सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी सिचाई तथा ऊर्जामन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन्।
राज्यमन्त्रीद्वय सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भूमीप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन्।
दुई दलबीच १३ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति छ।
शेखर कोइराला समूहले मन्त्री र राज्यमन्त्रीको नाम दिएपछि मुख्यमन्त्री कार्कीले एक राज्यमन्त्री एमालेबाट थप गर्नेछन्।


