म्याग्दी– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्। सञ्चार सुविधाको अभावमा कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको साङ्ताका बासिन्दालाई समस्या परेको हो।
बारागुङ मुक्तिक्षेत्र–५ का वडा सदस्य छिरिङ पासाङ गुरुङले सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गरिएको बताए। ‘साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा छैन’, उनले भने, ‘मोबाइलको टावर टिप्ने ठाउँमा पुग्न पैदलयात्राबाट दुई घण्टा र मोटरसाइकलमा ३० मिनेट लाग्छ।’
सञ्चार सुविधा नहुँदा स्थानीयवासी, व्यापारी र पर्यटकलाई समस्या भएको छ। समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको साङ्तामा १३ परिवारको बसोबास छ।
बारागुङ मुक्तिक्षेत्र–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ। साङ्तालाई मुस्ताङको कान्छो गाउँका रुपमा चिनिन्छ। सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको वडा सदस्य गुरुङले उल्लेख गरे।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले साङ्तामा मोबाइल सेवा विस्तारका लागि नेपाल टेलिकमसँग समन्वय गरेको बताए। ‘केही वर्षअघिसम्म साङ्तामा भिस्याट प्रविधिको फोन थियो। टेलिकमले भिस्याट प्रविधि बन्द गरेपछि साङ्तामा सञ्चार सम्पर्क विच्छेद भएको हो‘, उनले भने, ‘बिटिएस टावर स्थापना गरेर मोबाइल सेवा विस्तार गर्न टेलिकमसँग सहकार्य र समन्वय गरिरहेका छौँ।’
अध्यक्ष गुरुङका अनुसार तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र गाउँपालिकाको करिब रु ४४ लाख लगानीमा हालै १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरेर विद्युतीकरण गरिएको छ। योसँगै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टिभी हेर्न, ल्यापटप चलाउन सहज भएको छ।
स्थानीयबासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए। गाउँ नजिकैको डाँडामा सोलारको प्यानल राखिएको छ। सोलार प्यानल नजिकै घर बनाएर ब्याट्रीहरु भण्डारण गरेर राखिएको छ।
‘प्यानल र ब्याट्री भएको घरलाई तारको घेराबार बनाइएको छ। खम्बा गाडेर तारमार्फत घरघरमा विद्युत् आपूर्ति गरिएको छ। दश वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा यसै वर्ष ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ’, अध्यक्ष गुरुङले भने।


