काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गरेका छन्।
कुमारी इन्द्रजात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले चाडपर्वले परस्पर मेलमिलाप, भ्रातृत्व, प्रेमभाव, सदाचार, भाइचारा, सद्भाव र सम्मानको मार्गमा डोहोर्याउने सहयोग पुग्ने बताए।
उपराष्ट्रपति यादवले मौलिक चिनारी र अद्भूत परिचय बोकेका यी जात्रा, पर्व, त्योहार भूगोल, भेग, क्षेत्र र समुदायगत रुपमा फरकफरक नामले मनाइए पनि यसको महत्वपूर्ण उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोगभावलाई उत्प्रेरित गर्नु रहेको उल्लेख गरे।
यसले मानिसको मन, वाणी र कर्ममा पवित्रता तथा शुद्धता सञ्चार गर्दै देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउन सघाउ पुग्ने विश्वासका साथ उनले सबैमा शुभकामना व्यक्त गरे।
काठमाडौँ उपत्यकालगायत देशको विभिन्न भूभागमा अत्यन्तै हर्षोल्लास र धुमधामका साथ मनाइने इन्द्रजात्रामा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजाअर्चना गर्ने परम्परा छ। यस अवसरमा ठड्याउने लिङ्गो र विश्वमै अनौठो परम्परा जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो।



