पोखरा- जिल्ला प्रशासन कार्यालयमा मंगलबार बिहान एउटा सूचना आयो। पिकनिकमा लगिएको सामानको म्याद गुज्रिएको विषयमा दिइएको सूचना थियो त्यो। कार्यालयमा सूचना आएलगत्तै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भयो। बर्डवाइजर नामको बियर म्याद गुज्रिसकेपछि पनि बिक्री भएको सूचना पिकनिक जानेहरूले नै दिएका थिए।
जिल्ला प्रशासनले तत्कालै अनुगमन गर्ने निर्णय लियो। खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधिको टोली उक्त बर्डवाइजर बियर खरिद गरेको सेलवेज डिमार्टमेन्ट स्टोरमा पुग्यो। त्यहाँ सोधपुछ गर्दा पोखरा-५ पर्स्याङ धारापानी मार्गमा रहेको लाभाजु इन्टरप्राइजबाट खरिद गरेको भन्ने जानकारी दिइयो।
तत्कालै टोली पर्स्याङ धारापानीतिर लाग्यो। लाभाजु इन्टरप्राइज पुगेर हेर्दा ठूलो मात्रामा म्याद गुज्रेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ।
‘स्थानीयहरूले लाभाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं,’ ढकालले भने, ‘ पोखरा-५ पर्स्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो।
उनकाअनुसार जाउलाखेल डिस्टिलरीको कम्पनीले उत्पादन गरेको १३ लाख ९८ हजार ५ सय ३० मूल्य बराबरको बर्डवाइजर बियर उक्त इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो। ६ सय ५० एमएलको ३ सय १६ कार्टुन र ११ वटा बोतल प्रशासनले बरामद गरेको हो। ३ सय ३० एमएलको ६ कार्टुन र ११ वटा बोतल नियन्त्रणमा लिएको ढकालले बताए।
पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कडाइका साथ लाग्नुपर्ने बताए। म्याद गुज्रिएको खाद्य सामग्री बिक्री वितरण रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने उनको भनाइ थियो। यसमा उपभोक्ताहरू पनि सजग हुनुपर्ने उनले बताए। आफ्नो वडामा सञ्चालनमा रहेको लाभाजु इन्टरप्राइज नियमपूर्वक दर्ता भएर सञ्चालनमा रहेको भेटिएको उनले जानकारी दिए।
लाभाजु इन्टरप्राइजका एक प्रतिनिधिले उक्त बियर म्याद गुज्रिएर स्टकमा रहेको जिकिर गरे। उनकाअनुसार म्याद गुज्रिएको बियर नष्ट गर्नका लागि राखिएको थियो। कम्पनीबाट प्रक्रियामा मिलाउँदा नष्ट गर्न ढिला भएको उनले बताए। ‘कम्पनीले पनि फाल्ने नै हो। सबै प्रक्रिया मिलाउँदा ढिला हुन्थ्यो त्योभन्दा अघि नै नष्ट हुने भयो,’ उनले भने।
जिल्ला प्रशासन कार्यालयले म्याद रहेको र गुज्रिएको सामान छुट्टाछट्टै राख्न निर्देशन दिएको छ। यसैगरी व्यवसाय दर्ता नवीकरण एवं वैशाख १५ देखि २५ सम्मको खरिद तथा बिक्री बिल लिएर ३ दिनभित्रमा प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ।
म्याद गुज्रेको मादक पदार्थ सेवन गर्नु जोखिमपूर्ण हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए। मानव स्वास्थ्यमा ठूलो हानी पुर्याउने यस्तो खालको खाद्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई सोहीअनुसारको कानुनी कारबाहीको व्यवस्था रहेको उनले बताए।
‘खाद्य ऐन २०२३ मा म्याद गुज्रिएको सामान बेच्नै पाइँदैन भनिएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ मा नगद जरिवाना तोकिएको छ,’ उनले भने, ‘मूल्यसूची, बोर्ड, एक्सपाइर जोन छ/छैन सबै हेरेर ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ।’ उक्त मदिरा बुधबार नष्ट गरिएको छ।



