काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा तीन ट्रक जलाइएको छ।
आइतबार राती र सोमबार बिहान भारती नम्बर प्लेटका तीन ट्रकमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ।
बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको विरोधमा उनका समर्थकले ट्रकमा आगो लगाएका हुन्।
झापाका छुट्टा-छुट्टै ठाउँमा ट्रक जलाइएको हो।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको पुलमा यूपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आइतबार राति आगजनी भयो।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ मा डब्लूबी-७३-ई-३०५७ नम्बरको खाली ट्रकमा पनि आगजनी भएको छ।
झापाको धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन्।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आगजनीमा संलग्न भएकाहरूको खोजी भइरहेको छ।
प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए। तर, सवारी आवागमनको अवस्था सामान्य छ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपा नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन्।
पोखराको शहीद चोकमा विरोध उनीहरुले प्रदर्शन गरेका हुन्।
लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरुको आरोप छ।
रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको नेतृत्वमा पोखराको शहीद चोकमा रास्वपाले प्रदर्शन गरिरहेको छ।
प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका प्लेकार्ड बोकेका छन्।
लामिछाने पक्राउ पर्ने हल्ला फैलिएपछि आइतबार राती काठमाडौँस्थित रास्वपा केन्द्रीय कार्यालयमा ठूलो संख्यामा कार्यकर्ता पुगेका थिए।
लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको भन्दै रास्वपाले पार्टीका कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेपछि कार्यकर्ता भेला भएका थिए।
कार्यालयमा प्रहरी पनि उपस्थित भएपनि केही समयमा नै पछि हटेको थियो। यसपछि रास्वपाका नेताहरूले उपस्थित कार्यकर्तालाई सम्बोधन गरेका थिए।
कार्यालयमा पुगेका कार्यकर्ताले झुटो समाचार बनाएको भन्दै केही पत्रकारमाथि हुलहुज्जत गरेका थिए।
कार्यालयमा पुगेका रविले कार्यकर्तालाई छोटो सम्बोधन गरे। आफूले केही पनि नबिराएकाले र नडराएको दाबी गरेका थिए।
‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन। मान्छे बचाएर आएको हो‚’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने?’
आफू नडराएको र शिर ठाडो गरेर छाती ठड्याएर बसेको दाबी उनको थियो। कार्यालयमा कार्यकर्तालाई छोटो सम्बोधन गरेर उनी आफ्नै गाडीमा कार्यालयबाट बाहिरिए। रवि बाहिरिने क्रममा कार्यकर्ताले चर्का नाराबाजी गरेका थिए।
गोर्खा मिडिया नेटवर्क प्रालिमा रविका साझेदार समेत रहेका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार नै प्रक्राउ गरेपछि रविले आफूलाई पनि पक्राउ गर्न सक्ने भन्दै कार्यकर्तलाई कार्यालयमा बोलाएका थिए। जोशीलाई आकस्मिक पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको थियो।
रवि गोर्खा मिडियामा रहँदा विभिन्न सहकारीको ६५ करोडभन्दा बढी रकम अपचलन भएको सहकारी छानबिन समितिले ठहर गरेको छ। उक्त रकम अपचलनमा रविलाई कारबाही गर्न समितिको सिफारिस छ। संसदीय छानबिन समितिले रवि, जीबी र छवि तीनै जनालाई कारबाही सिफारिस गरेको छ।
रवि, गितेन्द्रबाबु राई र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क खोलेका थिए। गोर्खा मिडियामा रविको १५ प्रतिशत, जोशीको ३५ प्रतिशत र राईको ५० प्रतिशत शेयर कायम गरिएको थियो। तर उक्त मिडिया खोल्दा देखाइएको बिउपुँजी पनि सहकारीबाट नै ल्याइएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सहकारीले कुनै पनि मिडियामा लगानी गर्न नहुने नेपालको कानुनी व्यवस्था रहेको तर गितेन्द्र अध्यक्ष भएका ५ सहकारीले कुनै पनि प्रक्रिया पूरा नगरी गोर्खामा पैसा लगाएका थिए। ती सहकारीले रविको समेत नाम लेखेर रकम जम्मा गरेका थिए।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न सिफारिस गरेको थियो। समितिले संसदमा बुझाएको ११२४ पेजको प्रतिवेदनको १८औँ परिच्छेदमा सिफारिसका विषयमा उल्लेख छन्।
‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिको सुझाव तथा सिफारिस खण्डमा उल्लेख छ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सञ्चालक छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरी कर्मचारीलाई तलब भत्ता समेत सहकारीबाटै खुवाएको समितिको प्रतिवेदनमा उल्लेख छ। सहकारीको पैसा मिडियामा लगानी गर्नु आफैंमा पनि नियम विपरीत भएकाले समितिले यो तर्कलाई केन्द्रमा राखेर, रवि, जिवी र छबी तीनै जनलाई ‘दोषी’ का रुपमा चित्रण गरेको छ।
यद्यपि लामिछानेले ऋण र लगानीका विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै आइरहेका छन्। तर उनीहरूले छानबिन समितिले आफूलाई क्लिनचिट दिएको समेत उल्लेख गरेका छन्। समितिमा ९ घण्टा दिएको बयानमा पनि उनले आफूलाई केही थाहा नभएको तर्क गरेका थिए।
गोर्खा मिडियाका अध्यक्ष जीवी राई भने यतिबेला मलेसियामा छन्। उनलाई नेपाल फर्काउने प्रयास सफल भएका छैनन्।
नेपाल प्रहरीका प्रतिनिधि मलेसिया नै पुगेर उनीबारे सोधखोज गरे पनि कानुनी अड्चनका कारण जीवीलाई नेपाल ल्याउन प्रहरी निष्फल देखिएको छ।
कास्की प्रहरीले सहकारी रकम अपचलनका विषयमा पूरक जाहेरीका आधारमा रविमाथि अनुसन्धान जारी राखेको बताउन थालेको छ।


