काठमाडौं– नक्कली शरणार्थी प्रकरणले पार्टीभित्रै अप्ठेरोमा परेका सभापति शेरबहादुर देउवामाथि ‘दाग’ लागेकालाई निलम्बन गर्न दबाब दिन थालिएको छ। हिजो बेलुकी ४ देखि ८ बजेसम्म बसेको कांग्रेस पदाधिकारी बैठकमा यस विषयमा आवाज उठे पनि सभापति देउवा चुँ बोलेनन्। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता, नेतृहरूको संलग्नता बाहिर आएपछि सभापति देउवाले डामिएका आफू निकटसँग छलफल गरिरहेका छन्।
पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न आज पनि बैठक बस्न लागेको हो। हिजो बसेको बैठकमा खाँणबारे प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेकाले अहिले नै निलम्बन गरिहाल्नुपर्ने अवस्था नरहेको संस्थापन पक्षले रटान लगाएको बुझिएको छ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न सभापति देउवाबाटै पहल हुनुपर्ने जिकिर गरेका थिए। आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने बताइएको छ।
नक्कली शरणार्थी प्रकरणकामा आफ्नै अर्धांगिनीसमेत मुछिएका समाचार बाहिरिएपछि कांग्रेस सभापति देउवाले आगामी घटनाक्रमबारे निकटहरूसँग छलफल गरिरहेको स्रोतको दाबी छ।
नक्कली शरणार्थी प्रकरणलाई फासफुस पार्न एमाले अध्यक्ष केपी ओली, सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच साँठगाँठ हुने संकेत देखिएपछि नागरिक समाज खबरदारी गर्दै विरोधमा उत्रिएको छ।


