काठमाडौं– लामो समयपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पार्टी मुख्यालय च्यासलमा बस्दै छ। एमाले विधानमा केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्ने व्यवस्था भए पनि ९ महिना अर्थात् भदौपछि बल्ल आज बस्न लागेको हो।
तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको पाँचौं बैठकमा आज अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
एमालेले ५ फागुनबाट सुरु गरेको ‘मिसन ग्रासरुट’ को समीक्षा प्रतिवेदन पनि आजै ९ प्रदेश (७ भूगोल, २ गैरभूगोल) कमिटीले पेस गर्नेछन्।
गत मंगलरबार बसेको सचिवालय बैठकले तय गरेको १० कार्यसूची वरपर रहेर आजदेखि बैठकमा छलफल चलाइनेछ। भदौयता ५ मंसिरमा संघीय तथा प्रदेशसभा निर्वाचन र १० वैशाखमा विभिन्न स्थानमा रिक्त प्रतिनिधिसभा उपचुनाव भइसकेको छ। एमाले बैठकले त्यसलाई पनि समीक्षामा राखेर छलफल गर्ने बुझिएको छ।
९ पुसपछि एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए। तर १५ फागुनपछि एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अहिले प्रतिपक्षमा छ।
एमाले नेतृत्वमा कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार बने पनि कोसीबाहेक अन्यत्र ढलेको छ। एमाले केन्द्रीय कमिटी ३३५ सदस्यीय छ। ९ वटा प्रदेश कमिटीका अध्यक्ष पनि पदेन सदस्यका हैसियतले बैठकमा सहभागी हुनेछन्।
