भोजपुर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले हेर्ने कथाका पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन्।
भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराएका हुन्।
प्रकाशले आफ्नै पुर्ख्यौली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यक पर्ने जग्गा, गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको बताए।
हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उनको भनाइ छ।
राईले प्रकाशलाई एक महिना अघि रु एक लाख नगद पनि सहयोग गरेका थिए।
पूर्वमुख्यमन्त्री राई पत्नी जाङ्मु शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ।
राईपत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि कार्यक्रम गरी लालपुर्जा हस्तान्तरण गरिएको हो।
जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताए।
जग्गा प्रदान कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, स्थानीय जनप्रतिनिधिसहित स्थानीयवासीको उपस्थिति थियो।
परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहेका तामाङ हेर्ने कथामार्फत सम्पर्कमा आएका थिए।


