काठमाडौँ- कांग्रेसको संसदीय दलको जारी बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरो क्षति र उद्धार तथा राहतका विषयमा ब्रिफिङ गरेका छन्।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन्। सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकोप्टरबाट उद्धार गरेको उनको भनाइ छ।
गृहमन्त्री लेखकले नख्खुखोलाको घटनाका विषयमा बाहिर आलोचना भएजस्तो सरकारले सहयोग नै नगरेको विषय सत्य नभएको भन्दै चित्त दुखाएका छन्। टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको उनको दाबी छ। यद्यपि घण्टौँसम्म छाप्रोमाथि बगेका ४ जनालाई बगाएपछि सरकारको चर्को आलोचना भइरहेको छ।
‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो। त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको मलाई बताएका थिए,’ उनको दाबी छ।
उनले सोही घटनालाई मात्र आधार बनाएर सरकारको आलोचना गर्नु उचित नहुने जिकिर गरे।
‘एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो। प्रहरीले सहयोग नगरेको भन्ने होइन,’ उनले भने, ‘चार हजारभन्दा बढीको सरकारले उद्धार गरेको छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।’
सरकारले अहिले पनि राहत र उद्धारको काम गरिरहेको उनले बताएका थिए। तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको लेखकको ब्रिफिङ छ। क्षतिग्रस्त संरचनाको मर्मत र सञ्चालनको काम पनि भइरहेको उनले ब्रिफिङ गरेका थिए।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए।
यातायात संञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको जानकारी दिए।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको उनको भनाइ थियो।
सिंहदरवारबाट केही किलोमिटरको दूरीमा ललितपुर नख्खुखोलाको बाढीमा घण्टौँसम्म उद्धारको गुहार माग्दा पनि कसैले पनि उद्धार नगरेपछि ४ जना बगाएको थियो।
घटनालगत्तै गृहमन्त्री रमेश लेखकले उनीहरूलाई बचाउन नसकिएको कुरा बताएका थिए।
उद्धारको प्रयास नगर्ने तर मानिसहरूको मृत्युको घोषणा गर्नका लागि मात्र सरकारले हतार गरेको भन्दै सरकारको आलोचना भइरहेको छ।


