काठमाडौँ– हवाइ इन्धनको मूल्य घटेपछि सरकारले नगण्य मात्रामा हवाई भाडासमेत घटाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडादर लागू गरेको हो।
नयाँ दरअनुसार काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ।
त्यस्तै, काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ-धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ।
नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा-जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ।
बाढीपहिरोका कारण देशका अधिकांश राजमार्ग बन्द भएको अवस्थामा एयरलाइन्स कम्पनीहरूले चर्काएर भाडा असुलेका थिए।
चर्को भाडा लिएको भन्दै तीव्र विरोध भएपछि सरकारले इन्धनको मूल्य घटाइदिएपछि नगण्य मात्रामा भाडा घटाइएको हो।
नेपाल आयल निगमले असोज १४ गते आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर रु ६ मूल्य घटाएको थियो।
सडक अवरुद्ध भएपछि यतिबेला विमानस्थलमा चाप छ।
बिहानको समयका लागि तोकिएका उडानहरू साँझको समयसम्म पनि नभएपछि यात्रुहरूले विमानस्थल भित्रै नाराबाजी गरेको भिडियोहरू पनि समाजिक सञ्जालमा अपलोड भइरहेका छन्।


