म्याग्दी- दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ। च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकले नै बिक्रीमूल्य घटाएका हुन्।
गतवर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए।
‘ठाउँ अनुसार ५ देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौँ,’ उनले भने, ‘गत वर्ष काठमाडौँ-पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजार भन्दा कम हुुन्छ।’
गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगो हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो उनको छ।
छेवाङसहित डोल्पाका ४ जना व्यापारीले मुस्ताङ हुँदै ५ दिन हिँडेर २५० च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी आइपुगेका छन्। मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्रा दसैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहरमा पुग्ने गरेका छन्।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन्।
जडिबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ। दसैँतिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ।
भेटेरीनरी अस्पताल तथा पशु सेवाकेन्द्र मुस्ताङका प्रमख लालमणि अर्यालका अनुसार बुधबारसम्म ७ हजार च्याङग्रा जोमसोमदेखि म्याग्दीतर्फ झरेका छन्।
यस वर्ष दसैँका लागि मुस्ताङबाट १० हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।
तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लो-घेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन्।
उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए।
विसं २०८० मा ७ हजार, २०७९ मा ६ हजार ८ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ।


