२०८३ कार्तिक ११ गते मङ्गलबार

ए डिभिजन : खेलाडी ‘लाद्‍ने’ लिग

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, बैशाख २९
injured_players

काठमाडौँ- मछिन्द्र क्लब जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडमा छ। पछिल्लो वर्ष च्याम्पियन हुँदा खेलेका विशाल राई, रञ्जित धिमाल, सुजल श्रेष्ठले देश छोडे पनि विमल घर्तीमगर, ओलावाले अफिज, आन्द्रेस नियाँ, देवेन्द्र तामाङ र चेन्चो ग्लाल्छेनजस्ता खेलाडी भएकाले उसले लिग जित्ने विश्वास कायमै राखेको छ।

उपाधिको दौडमा रहेको मछिन्द्रले बुधबारको खेलमा चर्च बोइजसँग २–१ को पराजय व्यहोर्‍यो। उसका लागि यो हार सिजनको चौथो थियो। ए डिभिजनको अंकतालिकामा शीर्षस्थानको क्लबभन्दा ६ अंकभन्दा पछि रहेर मछिन्द्र चौथो स्थानमा पुगेको छ। राम्रै लयमा रहेको क्लबले पछिल्ला पाँच खेलमध्ये तीन खेलमा मात्र जित निकालेको हो। प्रश्न उठ्छ- मछिन्द्रले किन खेल हारिरहेको छ त?

‘खेलाडीमा चोट लाग्यो। हाम्रा खेलाडीलाई बिरामीले सतायो। घाइते भएपछि विमल र देवेन्द्रलाई लगातार खेलाउन सकिएन। ‘फिजियो’ले नै ‘नो’ भनेपछि खेलाउने कुरा पनि भएन,’ खेलपछि भावुक देखिएका मछिन्द्रका प्रशिक्षक किशोर केसीले मिडियासामु भनेका छन्, ‘खेलाडीलाई मार्नु त भएन नि!’

खेलाडीलाई चोटको कारण लिग खेल्न गाह्रो परिहेको छ। उपाधिको लक्ष्य लिएर हिँडिरहेका किशोर भन्छन्, ‘खास कुरा चाहिँ यसरी एकपछि अर्कोलाई चोट लाग्ला भनेर सोचेको थिएन।’ अहिले मात्र होइन, चोट पहिलेबाट नै छ चोटको कथा। मिडफिल्डर आन्द्रेस नियाँ पनि भर्खरै मात्र चोटबाट फर्किएका हुन्।

थकान र चोटको समस्या, अभ्यास समयको अपर्याप्तता मछिन्द्रमा मात्र होइन ए डिभिजन खेल्ने हरेक क्लबमा छ। नेपालको सबैभन्दा माथिल्लो स्तरको फुटबल लिग यसरी नै चलिरहेको छ। पर्याप्त गुणस्तरीय खेलाडी न वार्षिक क्यालेन्डर, जिम्मेवार आयोजक न व्यवस्थित लिगतालिका र मैदान।

यो लिग सुरु हुँदै गर्दा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भनिरहेको थिए, ‘हामी अहिले बाध्यताको लिग खेलिरहेका छौँ।’ अहिले भएको छ पनि त्यस्तै। ‘लगातार खेल्नुपर्ने भारका कारण खेलाडीलाई ‘राम्रो खेल, यो भएन, त्यो भएन’ भन्न सक्ने अवस्था छैन। उनीहरुबाट कति आश गर्ने? पेचिलो तालिकाले खेलाडीलाई चोट लाग्ने समस्या छ। रिकभर हुने समय नै छैन,’ एनआरटीसँग बराबरी खेलेपछि प्रशिक्षक मेघराजले भने।

चर्च बोइजका प्रशिक्षक बालगोपाल महर्जनको व्यथा पनि उस्तै छ। थोरै ग्यापमा खेल्नुपर्ने भएको कारण चर्च बोइजका खेलाडी घाइते भइरहेका छन्। ‘पेचिलो तालिकाले गर्दा खेलाडीमाथि जस्तोसुकै घटना हुने सम्भावना छ,’ महर्जनले मछिन्द्रलाई हराएपछि भनेका छन्।

घाइते खेलाडी विमल घर्तीमगर।

खेलाडीलाई चोट लाग्दा र नलाग्दा प्रदर्शनमा कस्तो असर पर्छ भन्ने विषयको ज्वलन्त उदाहरण हो, चर्च बोइज क्लबको प्रदर्शन। उसले सुरुमा अनन्त तामाङ र अञ्जन विष्टलाई खेलाएर राम्रो नतिजा निकालेको थियो। लिगमा खेल्लाखेल्दै घाइते भएका अनन्तले खुट्टाको चोटका कारण पाँच खेल गुमाए। राष्ट्रिय टिममा खेल्दा घाइते भएका अञ्जन विष्ट त झनै लामो समय रेस्टमा बस्नु पर्‍यो। यसबीचमा चर्च बोइजले दुई हार र ६ बराबरीको सामना गर्नुपर्यो।

‘खेलाडीको ‘क्विक रिकभरी’ नभएको र खेल तालिका ‘टाइट’ भएको कारण खेलाडीले धेरै खेल गुमाउनु परिरहेको छ,’ दशरथ रंगशालाको एक खेल सकिएपछि बालगोपालले भनेका थिए।

चर्च बोइजका खेलाडी घाइते भएर एक हप्ता खेल्न नसक्दा चार खेलसम्म गुमाउने अवस्था आएको थियो। वैसाख ४ गते खेलेको चर्च बोइजले ७, ९ र १२ गते लगातार खेलेको थियो। राष्ट्रिय लिगमा यस्तो तालिका विश्वको सायदै कुनै देशमा भेटिएला!

लिगको दोस्रो चरण सुरु भएसँगै अनन्त र अञ्जन मैदान फर्किएका छन्। यससँगै पछिल्लो चार खेलमा जित निकालेर टिमले लय समाएको छ। उसले अहिले उपाधिका लागि खेल्न थालिसकेको छ। यद्यपि लिगको तालिका पेचिलो भएको कारण चोटको सम्भावना ‘ज्युँका त्युँ’ छ। यसरी टिममा निकै राम्रा खेलाडी हुँदहुँदै पनि क्षमताअनुसारको खेल्न सकेका छैनन्।

अहिले पनि प्रशिक्षक बालगोपालको टिममा दक्षिण एसियाली कोटामा रहेका स्ट्राइकर सुशील शाह घाइते छन्। त्यस्तै, मिडफिल्डर एरिक विष्टलाई पनि चोट लागेको छ। कमल श्रेष्ठको ब्याक पेन छ। रञ्जित पनि घाइते छन्। यी खेलाडी सुरुआती ११ मा खेलिरहेका खेलाडी हुन्। समस्या तालिकामा नभएर खेलस्थल र समयमा पनि रहेको बालगोपाल बताउँछन्।

‘दिउँसो टर्फमा खेल खेलाएको कारण मैदानको उष्णताले खेलाडीमा थकान बढ्ने भइरहेको छ,’ प्रशिक्षक बालगोपालले भने, ‘मैले थाहा पाएअनुसार अभ्यासपछि थ्रीस्टारका कप्तान पनि ढलेछन्। वार्म अपमै घाइते हुने पनि भइरहेको छ।’

केही खेल अघिसम्म जावलाखेल युवा क्लबले लिग लिड गरिरहेको थियो। तर, उसको प्रदर्शन एक्कासी खस्कियो। यसको मुख्य कारण पनि लिगको तालिका नै हो। वैसाख १३ गते जावलाखेलले हिमालयन शेर्पाविरुद्ध पहिलो चरणमा खेलेपछि लगातार खेलिरहनु पर्‍यो। उसले वैसाख १३ पछि १६, १९, २२ गते गरेर १० दिनमा चार खेल खेल्यो। यति चाँडो त विश्वमा सायदै कुनै क्बलका खेलाडीले खेल्न सक्छन्।

‘लगातार खेल्नु परिरहेको कारण हाम्रो खेलको स्तर नै डाउन भयो। धेरै खलाडीको थकान रिकभर भएको छैन,’ हिमालयन शेर्पालाई दोस्रो चरणमा हराएपछि जावलाखेलका प्रशिक्षक सुनिल श्रेष्ठले भने। खेलाडीले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेपछि शीर्षस्थानमा रहेको उनको टिमले रेलिगेसन जोनमा रहेको खुमलटार र पुलिस क्लबसँग नै हार व्यहोर्नु परेको थियो। उपाधि जित्ने लक्ष्यसाथ अघि बढेर लिग लिड गरिरहेको जावलाखेलको लागि त्यो निकै दुखद् रह्यो। त्यसमाथि उसले संकटासँग पनि दुई अंक गुमायो। पहिलो लेगमा त शेर्पासँग हार खेपेको थियो। पेचिलो लिगतालिककै कारण जावलाखेलका खेलाडी थकानबाट रिकभर हुन नसकेपछि उसले जितलाई निरन्तरता दिन नसकेको प्रशिक्षकले बताएका छन्।

एपीएफका मणिकुमार लामा।

‘पुलिससँग हार्नुपर्ला भनेर हामीले सोचेको थिएन, तर हारियो। हाम्रो टिमको खेलाडीको प्रदर्शन एकनासको नहुँदा त्यस्तो भएको हो,’ श्रेष्ठले भनेका छन्, ‘यो पनि खेलाडीलाई रेस्ट नपुगेरै हो। आज खेलेर पर्सि नै खेल्नुपर्ने तालिका छ। हामीले त घाइते खेलाडीलाई पनि जबरजस्ती खेलाउनु परिरहेको छ।’

दोस्रो लेगमा जावाखेलसँग हारेको दिन हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले पनि घाइते खेलाडीलाई नै मैदान उतारिरहेको बताएका छन्। पछिल्लो समय शेर्पाले २० गते खेलेर २२ गते पुनः खेलेको थियो। त्यस अघिपछि पनि उसको खेलतालिका लगभग उस्तै छ।

‘खेल्नै पर्ने बाध्यता छ। अब एक दिन बिराएर खेल राखिएको छ। अरु विकल्पै भएन। अहिले हामीसँग करिब ८० प्रतिशत खेलाडी त चोट लागेका मात्र छन्। यस्तो अवस्थामा के गर्न सकिन्छ?’ सुमनको प्रश्न छ।

हिमालयन शेर्पाका एसियन कोटामा रहेका मिडफिल्डर सत्यम शर्माको शल्यक्रिया गरिएको छ। सुशील राई, बसन्त ओझा पनि खेल्न नसक्ने गरी घाइते छन्। त्यसबाहेक खलाडीले घाइते भए पनि खेल्नु परिरहेको छ।

सातदोबाटोका अध्यक्ष कपिल राना मगर आफ्नो क्लबको व्यथा उस्तै रहेको बताउँछन्। ‘त्यही त हो नि, रेस्ट नपाएर टिमले खेल नै देखाउन पाएको छैन। टिमले खेलको लयलाई उठाउन सकेको छैन अहिले,’ कपिलले भने। मुख्यगरी सातादोबाटोमा दुई खेलाडी घाइते छन्। निशान थापा मगर र पासाङ लामा। सर्वियन खेलाडी इभान पेरिसिचलाई भने विभिन्न शारीरिक समस्या देखिएको छ। उनी राम्ररी खेल्न सकिरहेका छैनन्। अरु खेलाडी पनि भन्नका लागि मात्र चोट नलागेका हुन्। उनीहरुमा थकान यति धेरै छ कि बयान गरिसाध्य छैन।

कुरा खेलाडीको मात्र होइन। रेफ्रीको पनि उस्तै नै हो। मैदानमा खेलाडीजत्तिकै रेफ्रीले पनि संघर्ष गर्नुपर्छ। यस्तो अवस्थामा एउटा रेफ्रीले पाँच दिनमा तीनदेखि चार ओटा खेल खेलाउनु परिरहेको छ।

‘खेलाउनको लागि फिट हुनुपर्छ। मेन्टल्ली स्टेबल पनि हुनुपर्छ। तयारी गर्नुपर्छ। आफ्नो फिडब्याक विश्लेषण गर्न सकिरहेको हुँदैन। यस्तोमामा रेफ्रीले कसरी खेलाउन सक्छ। उनीहरुलाई पनि थकान मेटाउने दिन त चाहिन्छ नै,’ लिग डाइरेक्टर सञ्जीव मिश्रकै सामुन्ने बालगोपाल महर्जनले भनेका छन्, ‘यस्तोमा रेफ्रीहरुलाई पनि मर्का परिरहेको छ।’

खेलको पेचिलो मारमा रहेपछि एपीएफका युया कुरियामा पनि घाइते भए। एपिएफले पछिल्लो खेलमा आर्मीमाथि जित निकाल्दा पहिलो रोजाइका गोलकिपर कुरियामा बेञ्चमै थिए।

युया कुरिया।

त्यस्तै, एपिएफका ९० मिनेटका खेलाडी मणिकुमार लामा पनि मैदानमा देखिएका छैनन्। ‘मलाई पहिलो चरणमा खुमलटारविरुद्ध खेल्दा चोट लागेको हो,’ मणिकुमार लामा भन्छन्, ‘अघिल्ला खेलहरूमा खेल्न सक्ने अवस्थामा थिइन। हाम्रो टिममा मसँग ६ जनालाई चोट लागेको छ। म चाहीँ यसअघिका खेलमा बेञ्चमा बस्नलाई मात्र गएको। तर अब अर्को खेलबाट कमब्याक गर्छु होला कि !’  त्यस्तै, राजा बाबु थापा घाइते भएपछि खेल्न सकेका छैनन्।

आर्मीका विकास खवास घाइते भएको त लामै समय भयो। विकासले चोटका कारण खेल्न नपाएपछि आर्मीको डिफेन्स लाइन कमजोर बन्दै गइरहेको छ। आफ्नो डिफेन्स देखेर आर्मीका प्रशिक्षक नवीन न्यौपाने चुचुकाउनुबाहेक केही गर्न सकिरहेका छैनन्। चोट लागेर रिकभर हुँदै गरेका विकास तामाङ र सुरज महतो पनि रिहाबमै छन्।

विप्लव पनि अहिले घाइते भएका कारण खेलमा देखिएका छैनन्। ‘राष्ट्रिय टिमको खेल आइरहेको छ भनेको छ। लिगको अवस्था यस्तो छ। खेलाडी घाइते हुने सम्भावना बढेको बढेकै छ। नेसनल टिमका खेलाडी क्लबमा पनि मुख्य खेलाडी हुन्। यसरी फुटबलको विकास कसरी होला खै !’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले नेपाल क्लिक्सलाई भनेका छन्।

आर्मी अघिल्लो वर्षसम्म उपाधिको बलियो दाबेदार थियो। तर यो वर्ष खेलाडी घाइते भएको कारण ऊ लिगको छैटौं स्थानमा सीमित छ।

त्यस्तै मनाङको डिफेन्सलाई सँधै सम्हाल्ने गरेका विदेशी खेलाडी नियाङ डियाग्नी लगातार खेलका कारण थकानले सताएपछि बिरामी परेका छन्। उनी एक समय बार्सिलोनाको बी टिममा खेल्थे। निकै अनुभवी डिफेन्डरको साथ पाएर मनाङले महत्वपूर्ण खेल जितेको पनि छ। तर, उनी घाइते भएपछि मनाङको प्रदर्शन अपेक्षित हुन सकेको छैन।

यस्तै प्रकारको गाह्रो सबैलाई रहेको संकटाका प्रशिक्षक सल्यान खड्गी बताउँछन्। ‘हेर्नुहोस् न हामीले त जोखिम लिएर नै खेलिरहेका छौं। हाम्रो टिमका खेलाडीमा ठूलो चोट लागेको नभए पनि सबै खेलाडी थकानले ग्रसित छन्। राम्रा खेलाडी त छन् तर उनीहरुले शतप्रतिशत दिन सकेका छैनन्,’ खड्गीले नेपाल क्लिक्ससँग भने। उनको प्रश्न छ, ‘१० दिनमा चार खेल खेल्दा कसरले सत प्रतिशत दिन सक्छ? त्यसमाथि कहिले त दिन बिराएर खेल राखिएको छ।’

संकाटामा राष्ट्रिय टिमका दुवै विंगर छन्- मनिष डाँगी र आयुष घलान। उनीहरुले अब आउँदो साफको लागि निकै अनुशासित भएर खेल्नुपर्ने छ। तर लिगको तालिकाको कारण उनीहरुले संयमित भएर खेल्नसक्ने अवस्था बनेको छैन।

लिग चल्दै गर्दा भएका समीक्षा नियाल्ने हो भने मेघराजको ‘बाध्यताको लिग’ चरितार्थ भएको छ। किनभने यहाँ घाइते र अघिल्लो खेलबाट रिकभर नै नभएका खेलाडीलाई खेलाउनुको विकल्पै छैन।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसी। तस्बिर : एन्फा

मछिन्द्रलाई पछिल्लो समय यस्तै कष्ट छ। ‘हाम्रो मुख्य स्ट्राइकर अफिज ओलावाले नै हो। तर खेल नै एक दिन बिराएर भएपछि खेलाडीले कहाँ राम्रो गर्न सक्छ? भोलि खाली छ पर्सी अभ्यास अर्को दिन फेरि खेल्नु परेको छ। सँधै त्यस्तो छ। ५-६ दिनको अभ्यास भए पो एउटा नयाँ ढाँचाले जाऔँ भन्ने हुन्छ,’ प्रशिक्षक किशोरले लिगको तालिकालाई लिएर दुःख व्यक्त गरेका छन्।

सहिद स्मारक लिगमा यो समस्या नयाँ होइन। पहिले पनि यस्तै तरिकाले प्रतियोगिता भइरहेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने महिला, बी र सी डिभिजन लिगको तालिका पनि यस्तै हुने गरेको छ। यता आयोजक संस्था एन्फा भने खेललाई चटक्कै भुलेर आपसी राजनीति गर्न पदाधिकारीको तलब बढाउनमै व्यस्त छ। स्वयंसेवक रुपमा काम गर्ने भनेर निर्वाचित पदाधिकारीले तलब लिए पनि उनीहरुले प्रतियोगिताका लागि मुख्य प्रयोजक भने खोज्न सकेका छैनन्।

पछिल्लो वर्ष लिगको सुरुमा विकइन्ड प्रणाली सुरु गरिएको थियो। त्यो समयमा एन्फाले शुक्रबार, शनिबार, आइतबार र सोमबार मात्र लिग आयोजना गर्ने गरेको थियो। बाँकी दिनहरु रेस्ट हुन्थे। यसरी एन्फाले केही समय लिग आयोजना गर्‍यो। तर, आधा लिग सकिएपछि उसले पुनः त्यो प्रणलीलाई भत्काउँदै दैनिक खेल गराउन थाल्यो।

बढ्दो महँगीका समयमा क्लबले खेलाडीमाथि करोडभन्दा धेरै लगानी गरेको बताउँछन्। एन्फाले लिग तालिका व्यवस्थित नबनाई दिएपछि त्यो लगानी नै धराशायी बनिरहेको छ। ‘यस्तो प्रणालीले न क्लबलाई फाइदा पुग्छ, न खेलाडीलाई। न त फुटबलकै विकास हुन्छ,’ प्रशिक्षक केसी बताउँछन्।

प्रकाशित: २०८० बैशाख २९ गते शुक्रबार ११:१२
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना