जेनेभा- हाइटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित ७० जनाको मृत्यु भएको छ। बिहीवार भएको गोली हानाहानमा मृतकको संख्या बढ्न सक्ने आकलन गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार पोर्ट सोन्डेमा भएको आक्रमणमा अरू १६ जना गम्भीर घाइते भएका छन्। यस्तै, दर्जनौँ घर र सवारीसाधन आगलागी भएको छ।
हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त छ।
‘हाइटीको पोन्ट सोन्डे सहरमा बिहीवार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौं,’ संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले एक विज्ञप्तिमा भनेका छन्, ‘ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू थिए।’
हाइटी प्रहरीसँगको गोली हानाहानमा गिरोहले कम्तीमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ।
गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा ३ हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो। -एएफपी
