काठमाडौँ- नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विद्यालय शिक्षासम्बन्धी १४ संघसंगठनले प्रदर्शन गरेका छन्। प्रदर्शनमा शिक्षक र विद्यालयका कर्मचारीहरूका संगठनलगायतले सहभागिता जनाएका थिए।
संघीय शिक्षा ऐन जारी गरी आफूहरुका माग सम्बोधन गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यालय कर्मचारी र बालकक्षा शिक्षक (ईसीडी)लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्नेलगायतका शिक्षकहरुका माग छन्।
शिक्षक महासंघले २०७५ र २०७८ सालमा शिक्षा मन्त्रालयसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्न समेत स्मरण गराएको छ। सम्झौताअनुसार शिक्षा ऐनमा आफूहरुका मुद्दा सम्बोधन गर्नुपर्ने र उक्त ऐन जारी गर्नुपर्ने प्रदर्शनकारीको माग छ।
तलबभत्ता सशर्त अनुदान शीर्षक अर्न्तगत पठाउने र निकासा गर्न पालिका परिषद्को निर्णय नचाहिने व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ। संविधानले माध्यमिक शिक्षा सम्मको अधिकार स्थानीय तहमा रहने व्यवस्था गरे पनि शिक्षकहरु पालिका मातहतमा रहँदा बेखुस छन्।
प्रदर्शनमा स्थायी, अस्थायी, करार, राहत, बालकक्षा, साबिक उच्चमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालय शिक्षक लगायतका शिक्षक र विद्यालयका लेखापाल, कार्यालय सहयोगी लगायत कर्मचारी सहभागिता रहेको महासंघले जानकारी दिएको छ।










