काठमाडौ- नेपालले अमेरिकासँग टी-२० आई सिरिजको तेस्रो खेल जित्दै सिरिज क्लिनस्वीप गरेको छ।
तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो। आज बिहान भएको तेस्रो खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो। यो खेल सिरिजको अन्तिम खेल थियो।
आजको खेलमा नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे।
यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे।
नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए।
यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ। लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ।


