काठमाडौँ- पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सख्ंया दिनानुदिन बढ्न थालेको देखिएको छ। काठमाडौंका पुराना र विस्तारित बजारदेखि भव्य देखिने धेरै व्यापारिक मलसम्म सुनसान देखिन थालेका छन्।
सटरमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्ड प्रशस्तै देखिन थालेका छन्। विगतमा काठमाडौँमा सटर र कोठा पाउन मुस्किल पर्ने तर अहिले जताततै खाली भएकाले समग्र देशभर पनि यस्तै अवस्था हुन सक्ने भएकाले जोखिम बढ्दै गएको आकलन गर्न सकिने व्यापारीहरूको भनाइ छ।
कोभिडपछि सुस्ताएको व्यापार उकास्न सरकारले सहयोग नगरेको आरोप व्यापारीको छ। सानादेखि ठूला सबै व्यापार अहिले पहिलाको भन्दा न्युन नै छ भन्दा हुन्छ। राजधानीका मल कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गर्दथ्यो। तर अहिलेको अवस्था फरक छ, ठुलाठुला मल/कम्पलेक्स पनि सुनसान छन्।
मलभित्रका रेस्टुरेन्टमा ग्राहक नआउने गरेको गुनासो व्यवसायीक छ। काठमाडौंमा अधिकांश अतिथि सेवा प्रदायक होटल र रेस्टुरेन्टको व्यवसाय खस्किएको होटल एसोसिएसन अफ नेपालले बताएको छ।
मुख्य व्यापार हुने क्षेत्रका भवनमाथि अहिले व्यापारिक र अफिसका बोर्डको ठाउँमा ‘टु-लेट’ बोर्ड देखिइरहेका छन्। रोडसाइडमा हुने पार्किङ हटाइएका कारण पनि ग्राहक नपाएर व्यवसाय खस्किएको व्यवसायीको गुनासो छ।
















