पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौं केन्द्रित आदोलन गर्ने भएको छ। सहकारी ठगी तथा संगठित अपराधको कसुरमा गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा निरन्तर आन्दोलनरत रास्वपा अब काठमाडौँ फर्कने भएको हो।
बिहीबार पोखरामा पत्रकार सम्मेलनमा रास्वपा सहप्रवक्ता मनीषा झाले आफूहरु सदनबाट आवाज उठाउर्ने ठाउँमा रहेको भएपनि संसद् पनि बन्द रहेकाले पोखराको सडकमा आएको बताए। काठमाडौँ माइतीघर मण्डलामा हुने आन्दोलन शान्तिपूर्ण हुने उनले बताए।
सांसद झाले संसदीय विशेष छानबिन समितिको ११२० पृष्ठ लामो प्रतिवेदनमा ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको बाहिरिएको स्मरण गराउँदै ८७ अर्बको कुरा नगर्ने, खाली गोर्खा मिडियाको १५ प्रतिशत स्वेट सेयर लिएका लामिछानेलाई थुन्न नमिल्ने बताए। उनले भने, ‘हामी ८७ अर्बमै चर्चा गरौँ न, सबैलाई समातौँ।’ राष्ट्रपतिको कानूनी सल्लाहकार बाबुराम कुँवरसमेत मुछिएको उल्लेख गर्दै उनलाई कारबाही नगरेको बताएका थिए।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई बिहीबार अदालतमा उपस्थित गराएर ७ दिनको म्याद थपिएको छ। उनीसँगै गोर्खा मिडियामा रविका साझेदार छविलाल जोशी र लिला पिछाईंलाई पनि थप ७ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की अदालतमा पुर्याइएसँगै पोखरामा रहेका रास्वपाका नेता तथा कार्यकर्ताहरू काठमाडौँ फर्कन थालेका छन्। राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आन्दोलित भएका रास्वपा समर्थित प्रदर्शनकारीले शुक्रबारदेखि काठमाडौँमा बसेर आन्दोलन गर्ने भएका हुन्।
रास्वपाले पोखरेली जनताको अपेक्षित साथ नपाएपछि आन्दोलन कमजोर भएकाले रास्वपा काठमाडौँ केन्द्रित भएको हो। पोखरामा सहकारी पीडितले पनि विरोध प्रदर्शन गर्न थालेपछि पोखराको मैदानमा बदनाम बनेपछि रास्वपाले अब काठमाडौँका सडकमा प्रदर्शन गर्ने छ। पोखराको तुलनामा काठमाडौँमा आन्दोलन गर्न सहज हुने निष्कर्षसहित रास्वपा रविलाई पोखरामा छाडेर फर्किएको हो।
आन्दोलनमा पोखरेलीले साथ नदिएपछि रास्वपाका नेता कार्यकर्ताहरू आन्दोलनमा आउन आह्वान गर्दै पोखरामा घरदैलो अभियान गरेका थिए। १० वटा छुट्टाछुट्टै टोली बनाएर पोखराका मुख्य–मुख्य बजारमा उनीहरूले घरदैलो गरेका थिए। उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सोविता गौतम, रास्वपा नेता मनिष झा, रमेश प्रसाई लगायतले घरदैलोको नेतृत्व गरेका थिए। उनीहरुले सरकारको रवैयाविरुद्ध सडकमा निस्कन पोखरावासीलाई आग्रह गरेका थिए।
पोखरेलीले साथ नदिने देखेपछि यसअघि नै रास्वपाले सबै जिल्लाबाट कार्यकर्तालाई पोखरा ओसारेको थियो। पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको थियो।
रास्वपा केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतका जिल्लालाई यस्तो निर्देशन जारी गरेका हुन्। शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो चाँडो कम्तीमा सय जनाको दरले पोखरा पुग्न निर्देशन गरेको थियो।
‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० (शनिबार राती)मा प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ,’ प्रदेशले जिल्लालाई दिएको निर्देशनमा उल्लेख छ। यसै सूचनालाई पछ्याएर रास्वपाले पोखरामा कार्यकर्ताहरूलाई पठाएको थियो। तर कार्यकर्ता भने आन्दोलनमा जान भन्दा पनि घुमघाम गर्न थालेपछि रास्वपाले घुमघामको फोटो राखे कारबाही गर्ने चेतावनी दियो।
रास्वपाको अनुशासन विभागले आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गर्ने चेतावनी दिएको थियो। ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ।’
लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरू प्रदर्शनमा छन्। केही भने घुमघाम, भेटघाट र रमाइलोमा केन्द्रित भएका थिए।
आन्दोलनका लागि भनेर बाहिरी जिल्लाबाट आएकाहरू घुमघाम गर्न थालेपछि पोखरेलीलाई आन्दोलनमा ल्याउनका लागि अनुरोध गर्दै घरदैलो गरेको प्रवक्ता झाको भनाइ छ। ‘मान्छेहरुलाई अरु-अरु पार्टीले विभिन्न किसिमका भ्रमहरु छरिराछन्। त्यसलाई हामीले यर्थाथ यो हो है। हामी हाम्रो नेतालाई छुटाउन आको होइन। सुशासन, निष्पक्ष कानुनी पक्रिया, भ्रष्टाचार विरोध कुराका लागि आका हौं भनेका छौं’, उनले दाबी गरे। उनले सबै नेता फरक फरक क्षेत्रमा खटिएको जानकारी दिएका थिए।
यता, सहकारीका पीडित बचतकर्ताले भने रास्वपाका नेताहरू घरदैलोमा आएर धम्की दिन थालेको बताउन थाले। सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा र सहकारी बचत पीडित संघ कास्कीले बुधबार विज्ञप्ति निकालेर रास्वपाको घरदैलोप्रति आपत्ति जनाएको हो।
‘निष्पक्ष छानबिन र सहकारी पीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडितलाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
रास्वपा सरकारमा हुँदा दुई वर्ष अगावै हारगुहार गर्दासमेत सहयोग नगरेको सहकारी पीडितको आरोप छ। अहिले आएर अनुसन्धानलाई प्रभावित पार्न खोजेको पीडितको निष्कर्ष छ।
‘हाम्रो सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँजसो पोखरामा भइराखेका छन्। पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन्, पिटिएका छन्। विगत दुई वर्ष अगाडिदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरुलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउदा पीडितको समस्या समाधानका निम्ति विन्ती बिसाउँदा पनि कहिल्यै कुनै सरसहयोग नभएको कुरा छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर आज पार्टी (रास्वपा) सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितका पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति प्रकाउ परे तब घैंटोमा घाम लागेजस्तो देखिएको छ। यो विषयले हामी सहकारी पीडित झनै शसंकित भएका छौँ, आज हामी सहकारी पिडितको यो गम्भीर विषयमाथि फेरी एउटा पार्टी र त्यसका नेताले राजनिति गरेको अनुभूति भइराखेको छ।’



