भक्तपुर- चाँगुनारायण नगरपालिकाले वायुको गुणस्तर सुधारका कार्यविधि बनाएको छ। नगर प्रमुख जीवन खत्रीले वायु गुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने आफ्नो पालिका देशकै पहिलो भएको दाबी गरेका छन्।
नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले वायु गुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगर रहेको बताएका हुन्।
‘सरसफाइको तालिम दिने र वायु गुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने चाँगुनारायण नै देशभरमा पहिलो हो,’ उनले भने।
कार्यक्रममा नगरप्रमुख खत्रीले नगरले सधैँ नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताएका छन्। नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रूपमा मनाउने तयारी गरेको छ। त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि योजना बनाइरहेको नगर प्रमुख खत्रीको भनाइ थियो। तर नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ। यसका लागि संघीय सरकारलाई आफूहरूले दबाब दिइरहेको उनले बताए।
अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहे पनि त्यसको समाधानका लागि कार्यविधि बनाएएको जानकारी दिए। बस नचल्ने स्थानमा ‘अटो’ र दसैँको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उपप्रमुख बुढाथोकीको भनाइ छ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिएका थिए। उनले पुरातात्त्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने औँल्याए।
राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले स्थानीय तहदेखि संघीय सरकारसँगको समन्वयमा अध्ययन, अनुसन्धानलगायत काम गर्दै आएको बताए।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष एवं पत्रकार महासंघ भक्तपुरका पूर्वअध्यक्ष पुष्करराज बुढाथोकी र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत् प्रजापतिले पनि मन्तव्य राखेका थिए।


