२०८३ कार्तिक ११ गते मङ्गलबार

आपसी गद्दारीकरणमा अल्झिएका कम्युनिस्ट नेता

 |  कौशल काफ्ले
Sanket

कौशल काफ्ले

काठमाडौँ, चैत ३
news_NC

स्थापनाका बेला नेपाल कम्युनिस्ट पार्टीले परेड गीतमार्फत सबैलाई आह्वान गर्दथ्यो-
‘पहाड पर्वत, खोला नाला, जग्गा जमिन सबको
मालिक हामी दास बनौँ किन? हिस्सा सबमा सबको
नाश गरौँ यो राणाशाही, ध्वस्त गरौँ यो तानाशाही
जाऔँ क्रान्ति गरौँ, अब क्रान्ति गरौँ।’

‘पीडित नेपाली सर्वहारा सुकुम्बासीको भावना अभिव्यक्त गर्ने साहित्य’मार्फत सबैलाई एक भएर लड्न प्रेरणा जगाउँथ्यो। एकताबद्ध हुन प्रेरित गर्दथ्यो। वर्गीय शोषणबाट मुक्त, श्रमप्रधान, न्यायिक तथा समतामूलक राज्य–व्यवस्था कायम गर्ने उद्धेश्यले वि.स. २००६ मा स्थापित नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी विचारबाट प्रभावित थियो।

कम्युनिस्ट पार्टीका सबै घटक र गुट एकै स्वरमा नारा लगाइरहेका छन्- संसारभरका मजदूरहरू एक होऔँ। यसरी अरुलाई एकताबद्ध हुन अर्ति दिने नेपालका कम्युनिस्ट शक्ति भने आपसमा मिलेर बस्न सकेनन्। नेकपाको गर्भबाटै सुरु भएको ‘टुटफुट र धोका–गद्दारी’को शृंखला आजसम्म पनि निरन्तर छ, यसले समयसोपानमा कति सिँढी सिर्जना गर्दछ भन्न सकिन्न। आफूलाई कम्युनिस्ट दाबी गर्ने मूलधारका राजनीतिक दलमा आएको दशकयताको उतारचडाव हेर्दा तत्कालै कम्युनिस्टहरू एक भइहाल्ने सम्भावना कम छ।

निर्वाचन आयोगले पछिल्लो समय अद्यावधिक गरेको दलहरूको विवरण केलाउँदा २० भन्दा बढी वामपन्थी धाराका पार्टीहरु छन्। नाममै ‘कम्युनिस्ट’ र ‘मार्क्सवादी’ जोडेका दल मात्र १५ वटा छन्। आयोगमै दर्ता नभई आफूलाई दल दाबी गर्नेको संख्या जोड्ने भने यो संख्या अझ बढी हुन्छ।

नेपालको संविधान, २०७२ जारी भएयता कम्युनिस्ट पार्टीभित्रै टुटफुट र ‘गद्दारी/गद्दार’को आरोप शृंखला धेरै भएको देखिन्छ। यसको उदाहरणका लागि पछिल्लो पटक बनेको नेकपा र यसको विभाजनलाई हेर्न सकिन्छ।

दूध र पानी अन्तरघुलित भएपछि पुनः पूर्ववत् अवस्थामा छुट्टाछुट्टै हुन नसक्ने जस्तै नेकपा एकता भएको दाबी गर्ने शब्दको ओझ डेढ वर्ष नपुग्दै मक्काएको संकेत देखिन थाल्यो। एकता घोषणा गर्दाताकाका अटुट मित्र एक–अर्कालाई अपराधीको संज्ञा दिने तहसम्म गिरे। एकअर्काको नाम लिँदा ‘मुख कुल्लै गर्नुपर्ने’ अवस्थामा पुगे।

संविधान जारी भएपछि भएको पहिलो पटकको संघीय र प्रदेशसभाको चुनावमा तालमेल गरेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले २०७५ जेठ ३ गते पार्टी एकीकरणको घोषणा गरे। नयाँ पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दिइयो। यो दलले आफूलाई ‘ठूलो जहाज’ दाबी गर्‍यो। जहाजमा ‘डबल पाइलट’ हुने भनिए जस्तै आफूहरू पनि दुई जना अध्यक्ष बने। एक थिए, केपी शर्मा ओली (तत्कालीन र हालका पनि नेकपा एमालेका अध्यक्ष) र अर्का चाहिँ पुष्पकमल दाहाल प्रचण्ड (तत्कालीन र हालका पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष) थिए।

दल एकीकरण गर्ने सम्झौतामा हस्ताक्षर गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड।

उनीहरू दुवै जनाले आफूहरू एकीकृत मात्रै नभएर अन्तरघुलित नै भएको दाबी गरेका थिए। ‘नेकपामा अब न एमाले छुटिन्छ, न माओवादी। साँच्चै भन्दा नेकपा छुट्टै यौगिक बनिसक्यो,’ प्रचण्डले भनेका थिए। दूध र पानी अन्तरघुलित भएपछि पुनः पूर्ववत् अवस्थामा छुट्टाछुट्टै हुन नसक्ने जस्तै नेकपा एकता भएको दाबी गर्ने शब्दको ओझ डेढ वर्ष नपुग्दै मक्काएको संकेत देखिन थाल्यो। एकता घोषणा गर्दाताकाका अटुट मित्र एक–अर्कालाई अपराधीको संज्ञा दिने तहसम्म गिरे। एकअर्काको नाम लिँदा ‘मुख कुल्लै गर्नुपर्ने’ अवस्थामा पुगे।

२०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुँदा १७४ र जेठ १४ सम्म आइपुग्दा सो संख्यामा थपिएर २७५ सांसदको समर्थन पाएका ओली २०७८ मा आइपुग्दा कमजोर देखिन पुगे। २०७८ वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओलीको पक्षमा जम्मा ९३ मत मात्र थियो। अन्य दलको त मत पाएनन् पाएनन्। आफ्नै दल एमालेभित्रको मत पनि उनले जोगाएर राख्न सकेनन्। बरु एमाले पनि टुक्रिएर अहिले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामक पार्टी जन्मिएको छ।

नेकपा यो अवस्थामा पुग्नुमा सर्वोच्चको निर्णयलाई कारण देखाइयो। तर सर्वोच्चले पुन: पार्टी एकीकरण गर्न रोकेको थिएन। ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते एमाले र माओवादी मिलेर बनेको नेकपा नामलाई अमान्य ठहर गर्दै एकताअघिकै अवस्थामा फर्काइदियो। यदि दुवै पार्टीले पुनः एकैठाउँ बस्न चाहेका भए त्यसपछि पनि त्यसतर्फ कुनै अभ्यास हुन सक्दथ्यो। तर उनीहरु आपसमा भेटका लागि पनि तयार भएनन्।
सर्वोच्चको फैसला आउनुअघि नै पार्टीभित्र कलह सर्वोच्च बिन्दुमा पुगेको थियो।

तत्कालीन समयमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि दलभित्रको विवाद सदन र सडकसम्म पुगेको थियो। समानान्तर गतिविधिको अभ्यास भएको थियो। पार्टीमा अन्तरकलह र तीव्र विवादका बाबजुद सत्तामा टिकिरहन ओलीले चालेका कदमले माधवकुमार नेपाल र प्रचण्डलाई समर्थन गर्ने सांसदहरू ओलीसँग एकैठाउँ बस्न नसक्ने अवस्थामा पुगिसकेका थिए।

नेपालमा कम्युनिस्ट शक्ति अस्थिर किन देखिन्छन् त? वि.सं. २०२१ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध ८४ वर्षीय वामपन्थी नेता चन्द्रदेव जोशीले भन्ने गर्छन्– नेपालमा कम्युनिस्ट पार्टीको जन्म नै संकीर्ण मानसिकताबाट भएको छ, यो उदार हुन सक्दैन।

गत स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा समाजवादी केन्द्र बनाएर तालमेल गर्ने भनिएपनि सफल भएन। चुनावपछि एमाले र माओवादीलगायतका अन्य दल एक ठाउँमा उभिएर सरकार चलाउने भनेपनि त्यसले पूर्ण आकार नपाउँदै भताभुङ्ग हुनपुग्यो। अन्ततः प्रधानमन्त्री पाइसकेपछि प्रचण्ड एमालेले पुनः ‘गद्दारी’ गरेको भन्दै कांग्रेससँग मिल्न आएका छन्। एमाले पनि माओवादीलाई धोकेबाजको संज्ञा दिँदै प्रतिपक्षीको बेञ्च दाबी गरिसकेको छ।

यसबीचमा माओवादी मूलका शक्ति एकठाउँमा उभिन आइपुगे। प्रचण्डविरुद्ध जनयुद्धकालीन घटनालाई लिएर मुद्दा परेपछि माओवादी घटक दल एकठाउँमा उभिएर प्रतिवाद गरे। यही मौकामा सबैलाई एकठाउँमा ल्याउने प्रचण्डको चाहना रहेपनि तत्काल सम्भव देखिँदैन।

नेपालमा कम्युनिस्ट शक्ति अस्थिर किन देखिन्छन् त? वि.सं. २०२१ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध ८४ वर्षीय वामपन्थी नेता चन्द्रदेव जोशीले भन्ने गर्छन्, ‘नेपालमा कम्युनिस्ट पार्टीको जन्म नै संकीर्ण मानसिकताबाट भएको छ, यो उदार हुन सक्दैन।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाकालदेखि नै विवादको भूमरीमा परेको तथ्य लेख/पुस्तकमा पढ्न पाइन्छ। नेकपाको गठन, प्रथम सम्मेलन र प्रथम महाधिवेशनको कालखण्डमा भारतीय कम्युनिस्ट पार्टी पनि नेतृत्व परिवर्तन, राजनैतिक र नीतिगत उतारचढावबाट ग्रस्त थियो। सोही पार्टीको ‘संलग्नता’मा गठन भएको यो पार्टीमा त्यसको प्रभाव पर्नु स्वाभाविक रहेको तर्क कतिपयले गर्दै आएका छन्।

जोशीले लेखेको विश्व कम्युनिस्ट आन्दोलनको पुस्तकमा ‘२००६ सालमा सानो समूहले कम्युनिस्ट पार्टी सुरु गर्दा नै संकीर्ण सोच र स्वार्थको बीज रोपिएको’ कुरा उल्लेख छ। यसबाट ‘धोका–गद्दारी’को शृंखला पार्टीको गर्भबाटै सुरु भएको देखिन्छ। सुरुबाटै पुष्पलाल, केशरजंग रायमाझी र मनमोहन अधिकारीबीच ‘टसल’ देखिन्छ।

नेकपा स्थापनाको औपचारिक जानकारी २००६ साल भदौ ३० गते दिएइएको थियो। तर अनौपचारिक रुपमा भने त्यसअघि नै यो दल गठन भइसकेको देखिन्छ। नेकपा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए। महासचिव पुष्पलाललाई काठमाडौँबाट कलकत्ता पुगेका नेवारलाई मात्र समेटेर पार्टी खोलेको आरोप लागेको थियो। पछि बाहिर सार्वजनिक गर्दा भने मनमोहन, रायमाझीसहित अन्य सदस्य पनि पार्टीमा थपिएका थिए।

पार्टी स्थापनाको २ वर्ष नपुग्दै नेकपा विवाद झन् चुलिन थाल्यो। त्यही बेला मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले पार्टीलाई प्रतिबन्ध लगायो। अनेक कसरत गर्दा पनि प्रतिबन्ध फुकेको थिएन। अन्तत: २०१३ सालमा टंकप्रसाद आचार्य प्रधानमन्त्री छँदा प्रतिबन्ध फुक्यो। त्यसका लागि पुष्पलाल, पीएन राणा, शम्भुराम आदिले सर्वसम्मतिबाट नेपाली राजतन्त्र अन्तर्गत रहेर शान्तिपूर्ण रूपमा समाजवादको प्रचार गर्ने लिखत निवेदन दिएका थिए। तरपछि फुकुवा भएपछि यही विषयलाई लिएर पार्टीभित्र विवाद हुन थाल्यो। पुष्पलाल खेमा, रायमाझी खेमा र मनमोहन समूहको तीन ध्रुवमा पार्टीको आन्तरिक संगठन बाँडिन थालिसकेका थिए।

सन् १९५२ को अन्त्यतिर जनकपुरको बटेश्वरमा बसेको बैठकले नै पुष्पलालको नीतिलाई ‘अतिवादी र वामपन्थी सङ्कीर्णतावादी’ ठहर गरिसकेको थियो। पार्टी नेतृत्वमा मनमोहन अधिकारीलाई नियुक्त गर्‍यो। आफैँले स्थापना गरेको पार्टीमा पुष्पलाल अल्पमतमा परे। स्थापनापछिको पहिलो महाधिवेशनले पुष्पलाललाई किनारा नै लगायो। सन् १९५४ मा पाटनमा भएको सो महाधिवेशनले मनमोहनलाई महासचिव बनायो। सन् १९५७ मा आएर दोस्रो महाधिवेशन भयो। महाधिवेशनले डा केशरजंग रायमाझीलाई महासचिव बनायो। रायमाझीको उदयले कम्युनिस्ट आन्दोलनलाई थप तनावपूर्ण अवस्थामा पुर्‍यायो।

२०१७ साल पुष १ गते राजा महेन्द्रले निर्वाचित संसद विघटन गरी पञ्चायती व्यवस्थामा प्रवेश गराउँदा मस्को भ्रमणमा रहेका रायमाझीले राजा महेन्द्रको समर्थनमा वक्तव्य दिए। उनको यो काम अझै ‘रायमाझी प्रवृत्ति’को रुपमा चित्रित हुने गरेको छ।

बनारसमा भएको २०१९ को तेस्रो महाधिवेशन महत्त्वपूर्ण कालखण्डको रुपमा हेरिन्छ। महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव बनायो। तर पूर्वमहासचिव रायमाझीले स्वीकार गरेनन्। पुष्पलाल श्रेष्ठ त महाधिवेशनमै उपस्थित भएनन्। यद्यपि उनले महाधिवेशनको निर्णयको भने समर्थन गरे। यसरी ०१९ सालमा भएको पार्टीको फुटको कारण २००८ मा बटेश्वर बैठकले रोपेको विभाजनको बीउ नै हो भन्ने धेरै वाम नेताको ठहर छ।

तेस्रो महाधिवेशनले मोहनविक्रम सिंहलाई नयाँ नेताको रुपमा उदय गरायो। उनले पछि आफ्नो गुट बलियो बनाउँदै लगे। त्यो गुट पनि ‘मसाल’मा परिणत भयो। मोहन वैद्य, प्रचण्ड, डा बाबुराम भट्टराई, चित्रबहादुर केसीजस्ता नेता यहीभित्रबाट (चौम धार) उदाए।

यता रायमाझीले भने आफैँलाई महासचिव दाबी गर्दै ‘गुट’ चलाइरहेका थिए। तर दरबारसँग नजिकिएर सिद्धान्तच्यूत भएको भन्दै रायमाझीलाई निष्काशित गरेर कृष्णराज बर्मा, चन्द्रदेव जोशीलगायतले विष्णुबहादुर मानन्धरलाई त्यसको महासचिव बनाए।

यता नेकपा अमात्य समूह, नेकपा मानन्धर समूह छँदै थियो। २०२७ सालमा मनमोहन अधिकारीको समेत संलग्नतामा मोहनविक्रम सिंह, निर्मल लामा, शम्भुराम श्रेष्ठसहितको एउटा शक्ति बन्यो। पछि एकअर्कालाई आरोप लगाउँदै, ‘गद्दार’ करार गर्दै सबै छिन्नभिन्न भए। पुष्पलाल समूहबाट निस्केर भक्तपुरे नेता नारायणमान बिजुक्छेले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) गठन गरे। २०३० को दशकमा झापा विद्रोहबाट को-अर्डिनेसन केन्द्र हुँदै २०३५ सालमा ‘नेकपा माले’ गठन भयो।
२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी यति टुक्रियो र आपसी द्वन्द्वमा फस्यो कि नेताहरू एकैठाउँ जम्मा हुनै नसक्ने स्थिति पनि पैदा भयो। २०४६ सालको जनआन्दोलनको लागि संयुक्त वाम मोर्चा बनाउन सकस पर्‍यो। यसबारे जनमोर्चाका नेता चित्रबहादुर केसीले बारबार बताइरहेकै हुन्छन्।

२०४७ पछि संसदीय राजनीति त्याग्ने भन्दै नेकपा मसालले ‘जनयुद्ध’को पृष्ठभूमि तयार गर्न थाल्यो। त्यसमा प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईलगायतका नेता संलग्न थिए। माले र मार्क्सवादी समूहको एकताबाट बनेको एमाले ‘जनताको बहुदीय जनवाद’ भन्दै संसदीय खेलमै रमाइरह्यो।

२०५४ सालमा आइपुग्दा फेरि एमाले फुटेर एमाले र माले बन्यो। माओवादी सशस्त्र युद्धमा होमिएको थियो। त्यसक्रममा पनि एकअर्कालाई गद्दार र धोकेबाज भन्दै कारबाहीको डन्डा चलाउने प्रयत्न भएकै देखिन्छ। २०६० को दशकमा त्यही माओवादी पनि विभिन्न धारमा विभाजित बन्यो। त्यसपछि समयक्रममा एक हुने र पुनः टुक्रिने क्रम जारी नै छ।
नेपालका कम्युनिस्ट शक्तिमा आएको टुटफुट हेर्दा कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै पारस्परिक अविश्वास, व्यक्तिगत अहंकार तथा कटुतापूर्ण विवादका विभिन्न चरणहरुबाट गुज्रेको देखिन्छ।

एकले अर्कालाई ‘प्रतिक्रियावादी र गद्दार’ भन्ने ‘संस्कार’ कम्युनिस्ट पार्टीभित्र जरैबाट हुर्केको हो। मनमोहनलाई पुष्पलालहरुले प्रतिक्रियावादी भने। पुष्पलाललाई ‘गद्दार र प्रतिक्रियावादी’ भने मोहनविक्रमले। मोहनविक्रमलाई प्रतिक्रियावादी भन्यो एमालेले। एमालेभित्रै सीपी मैनालीलाई ‘प्रतिक्रियावादी र गद्दार’ भने मनमोहनले। निर्मल लामालाई गद्दारीकरण गरे मोहनविक्रमले। मोहनविक्रमलाई गद्दार र प्रतिक्रियावादी भने मोहन वैद्यले। वैद्यलाई दक्षिणपन्थी भने प्रचण्डले। केपी ओलीलाई गद्दार भने प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले। ओलीले प्रचण्ड, नेपाल र खनाललाई गद्दारीकरण गरे। प्रचण्डलाई गद्दार र प्रतिक्रियावादी भने विप्लवले। अहिले विप्लवलाई पनि प्रतिक्रियावादी भन्दै धर्मेन्द्रहरू बोलिरहेका छन्।

यसरी कम्युनिस्ट पार्टीका नेताहरु आफ्नै सहयात्री र सहयोद्धालाई किन गद्दार र प्रतिक्रियावादी/प्रतिगमनकारी करार गर्छन् त? ‘यिनीहरु टाढा जान सक्दैनन्। किनभने सबैभन्दा नजिकको साथीलाई प्रतिक्रियावादी भन्न सजिलो पनि छ। त्यहाँ अलिअलि घुस खाएको वा केही गरेको देखिरहेको पनि हुन्छ। अनि सिधै प्रतिक्रियावादी र गद्दार भनिदिन्छ,’ राजनीतिक विश्लेषक मुमाराम खनाल थप्छन्, ‘कम्युनिस्ट पार्टीहरु शक्तिसँग धेरै आशक्त हुन्छन्। त्यसभित्र धेरै शक्तिको संघर्ष हुन्छ। आफ्नै साथीलाई पनि मार्ने बरु प्रतिक्रियावादीसँग मिल्ने चरित्र देखिन्छ। कम्युनिस्ट पार्टीको सम्पूर्ण इतिहास हेर्नुभयो भने यिनीहरुको सबैभन्दा ठूलो इतिहास वर्गसंघर्ष भन्दा पनि अन्तरसंघर्षको छ। जस्तो, रुसमा त ९८ जना त केन्द्रीय सदस्य नै मारिएकै हुन्।’

कम्युनिस्ट पार्टीहरुमा व्यवहारवादी वा निष्कर्षमुखी राजनीतिभन्दा पनि सैद्धान्तिक बहसमा अल्झिने भएकोले पनि समस्या देखिने खनालको तर्क छ। नेपालका कम्युनिस्ट स्थापनाकालबाटै चीन र रुसको विवादबाट प्रभावित भएको कुरा कम्युनिस्ट पार्टीको गठनको लगत्तै देखिन थालेको थियो। पुष्पलालहरु बढी चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावमा र मनमोहनहरु रसियाली कम्युनिस्ट पार्टीहरुको प्रभावमा परेको खनालको ठहर छ।

२०१० सालसम्म आइपुग्दा एउटा महाविवादमा पार्टी फस्यो। यसले नेपालका कम्युनिस्ट पार्टीहरु शसस्त्र द्वन्द्व, मार्क्सवाद, लेलिनवाद, माओवाद भन्नेजस्ता सैद्धान्तिक कुरामा यिनीहरु विभिन्न घटकमा विभाजित भए। ‘तर २०४६ सालपछि भने कम्युनिस्ट पार्टीहरु पोलेमिक्समा भन्दा पनि सत्तासँग को नजिक हुनसक्ने भन्ने कुरामा संघर्ष गर्न थाले। त्यसले गर्दा कम्युनिस्ट पार्टीहरु बढी विभाजित हुने, बढी आरोपप्रत्यारोप र गद्दारीकरणमा केन्द्रित हने तर सहिष्णुता नराख्ने प्रवृत्ति देखापरेको हो,’ खनाल भन्छन्।

प्रकाशित: २०७९ चैत ३ गते शुक्रबार ०७:१२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना