काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको शनिवार साँझ सम्पन्न खेलमा सातदोबाटो युवा क्लबले विभागीय टिम एपीएफलाई ३-० ले पराजित गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटले जित निकालेको हो। सातदोबाटोलाई जित दिलाउन दीपकराज सिंह ठकुरीले पहिलो र दोस्रो हाफमा एकएक गोल गरे।
त्यसबाहेक पहिलो हाफमा विलियम ओपोकुले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। धेरै खेलाडी चोटका कारण आराम गर्नुपर्ने भएपछि एपीएफले गोल फर्काउन सकेन। उसले गरेका केही प्रहार गोलमा परिवर्तन हुन सकेनन्।
यो जितसँगै २७ अंक बनाएको सातदोबाटो तालिकाको चौथो स्थानमा पुगेको छ। त्यस्तै, शनिबारै भएको खेलमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई १-० ले हराएको छ।


