काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने एक जनालाई २५ हजार जरिमाना गरेको छ। काठमाडौँ महानगरपालिका-७ स्थित ओम हस्पिटल अगाडि फोहोर फालेको भन्दै दिनेश श्रेष्ठलाई महानगरले २५ हजार जरिमाना तिराएको हो।
महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरेर कारबाही गरिने सूचित गरेको छ। अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्नसमेत महानगरको आग्रह छ।
जरिमानामा परेका श्रेष्ठले गल्ती गरेपछि सजाय भोग्नुपर्ने प्रतिक्रिया दिएका छन्। आफूले महानगरलाई २५ हजार रुपैयाँ तिरिसकेको समेत उनले जानकारी दिए।
‘मैले गल्ती गरि हालेँ। गल्ती गरेपछि महानगरले गरेको जरिमाना पनि तिरिसकेको छु। अब यस्तो गल्ती गर्ने छैन। कसैलाई पनि नगर्न आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘महानगर स्वच्छ र सुन्दर राख्ने सबैको दायित्व हो। मलाई जरिमाना गरियो भनेर मैले असन्तुष्ट हुने ठाउँ छैन।’


