बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादीले उम्मेदवारी फिर्ता लिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजु कुमारी विकले उम्मेदवारी फिर्ता लिएकी हुन्।
उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए।
गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि अब तीन दलका मात्र उम्मेदवार मैदानमा छन्। अब कांग्रेस, एमाले र नेकपा एसबीच यहाँ प्रतिस्पर्धा हुने भएको छ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आजै चुनाव चिन्ह प्रदान गरिएको छ।
