काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानको भाडामा छुट दिन थालेको छ। न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालिएको निगमले जानकारी दिएको हो।
नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा निमगले छुट घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि छुट दिन थालिएको हो।
निगम प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २५ सय तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिन थालिएको छ।
निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ देखि २२ नोभेम्बर २०२४ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ।


