काठमाडौँ- महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससँगको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले यही मंसिर १४ र १५ गते एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो।
मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्री एवं प्रर्दशनीका लागि राखिने छ।
मेलामा महासंघले नेपाली उद्यमीहरुद्वारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सास्कृतिक उत्पादनहरुको प्रर्वद्धन, प्रर्दशन तथा विक्रि वितरण गर्ने आयोजकले जानकारी दिएको छ।
आयोजकले मेलामा सहभागिताबाट नेपाली उद्यमीहरुलाई व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ट अवसरहरुको खोजीमा मद्दत पुग्ने साथै उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्नुका साथै विक्री वितरणका लागि दिर्घकालिन अवसर प्राप्त हुने विश्वास लिएको छ।
अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नपुगेको विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाको मेलवर्नमा एक स्थायी विक्री कक्षको स्थापना तथा सञ्चालन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको पनि आयोजकले जनाएको छ।


