काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबारका दुवै खेल बराबरीमा रोकिएका छन्। जावलाखेल युवा क्लब र मनाङ मस्र्याङ्दी क्लबको खेल २–२ को बराबरीमा रोकिएको हो भने न्यु रोड टिम (एनआरटी) ले फ्रेन्ड्स क्लबसँग पनि बराबरी खेलेको छ।
च्यासल मैदानमा आयोजना भएको खेलमा जावलाखेलले २–० को अग्रता अवस्था अन्तिम १० मिनेटमा जोगाउन नसक्दा बराबरी गरेको हो।
खेलको ३३ औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको जावलाखेलका लागि ७५ औं मिनेटमा हिसुब थपलियाले अग्रता दोब्बर बनाएका थिए। तर ८० औं मिनेटमा विशन गुरुङले गोल फर्काएपछि मनाङ लयमा आएको थियो। खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै बराबरी गर्न सफल भए।
मनाङले यससँगै चौथो बराबरी गरेको हो। उसले धेरै खेलबाट जित निकाल्न सकेको छैन। पछिल्ला चार खेलमा त बराबरी मात्र गरिरहेको छ। जावलाखेल भने ३१ अंक सहित तालिकाको शीर्षस्थानमा छ। मनाङ २२ अंक सहित सातौं स्थानमा छ ।
आजै एन्फा कम्प्लेक्समा सम्पनन खेलमा एनआरटी र फ्रेन्ड्सले २–२ कै बराबरी खेलेका छन्। फ्रेन्ड्सका लागि राफिक अमिनुले गोल गरेर अग्रता बनाएका थिए। तर अमित तामाङले आत्मघाति गोल गरेपछि एनआरटीले १-१ को बराबरीको अवसर पाएको थियो।
अमितले नै पेनल्टीबाट गोल गर्दै फ्रेन्ड्सलाई फेरी २–१ को अग्रता दिलाए। यता, ८० औं मिनेटमा जिन एनिसेन्टले पेनाल्टी मिस गरेपछि फ्रेन्ड्स जितको नजिक पुगिसकेको थियो। अन्तिम मिनेटमा निकोलस सर्ज संगले गोल गरेपछि भने खेल बराबरी भएको हो।
यससँगै एनआरटी २२ अंक जोडेर तालिकाको आठौं स्थानमा छ। फ्रेन्ड्स २० अंक सहित ११ औं स्थानमा छ।


