काठमाडौँ– विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा ५० प्रतिशत छुट पाउने भएका छन्।
साधारण व्यक्तिका लागि २ सय रूपैयाँ शुल्क तोकिएको शुल्कमा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले एक सय रुपैयाँ तिरेरै धरहरा चढ्न पाउने भएका छन्।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि स्वीकृत गरेको हो ।
शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुईपाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।
त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ तोकिएको छ।


